
एजेन्सी– मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गअन्तर्गत तेहुआनटेपेक रेलवेको इस्थमसस्थित इन्टरओसेनिक कोरिडोरमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्। मेक्सिकन नौसेना सचिवालयले यो जानकारी दिएको हो।

नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनाका बेला लाइन ‘जेड’ मा सञ्चालनमा रहेको उक्त रेलमा करिब २५० यात्रु सवार थिए। घाइतेमध्ये ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुहरू सामान्य उपचारपछि घर फर्किएका छन्। हाल १३९ जना यात्रु खतरा मुक्त अवस्थामा रहेको नौसेनाले जनाएको छ।
नौसेना सचिवालयले ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितहरूलाई तत्काल सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै घटनापछि खोज तथा उद्धार कार्यका लागि ३६० नौसेना कर्मी, २० सवारी साधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन परिचालन गरिएको छ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अनुसन्धान जारी राख्ने र पीडित तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।
दुर्घटनापछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौसेना तथा आन्तरिक मामिला सचिवालयका अधिकारी र मानव अधिकारकर्मीहरूलाई घटनास्थलमा पुगेर प्रभावित परिवारसँग भेटघाट गर्न निर्देशन दिएकी छन्।