हिपमत डटकम

सोमबार, पौष १४, २०८२ || 444  पटक पढिएको

काठमाडौँ । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो तर्फबाट सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गर्न गृहकार्य थालेका छन्।

रास्वपासँग भएको सहमतिअनुसार निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको बन्द सूचीमध्ये बालेनले ४० जनाको नाम सिफारिस गर्ने तयारी गरेका हुन्। स्रोतका अनुसार केही उम्मेदवारको नाम रास्वपा र बालेन दुवैको साझा सूचीमा समेत पर्न सक्नेछ।

‘११० सिट नै जितिन्छ भन्ने ग्यारेन्टी त छैन, तर जति नाम पठाइन्छन्, जुन टिमबाट भए पनि योग्य उम्मेदवार हुनुपर्छ। त्यसैअनुसार सूची तयार भइरहेको छ,’ बालेनको सचिवालयका एक सदस्यले बताए।

ती सदस्यका अनुसार निर्वाचन आयोगको आधिकारिक सफ्टवेयर र एक्सेल सिट प्रयोग गरी विभिन्न क्लस्टरहरूको व्यवस्थापन भइरहेको छ। नेपालको निर्वाचन कानुनअनुसार समानुपातिक प्रणालीमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम र खस–आर्य समुदायको निश्चित प्रतिशत र क्रम मिलाउनुपर्ने व्यवस्था छ।

‘समानुपातिक सूची निर्माण निकै जटिल र प्राविधिक प्रक्रिया हो। सफ्टवेयरमा एउटा नाम मात्र तलमाथि हुँदा वा क्लस्टर नमिल्दा पूरै सूची अस्वीकृत हुने जोखिम हुन्छ,’ ती सदस्यले भने, ‘त्यसैले राम्रो मान्छे मात्र होइन, उसले कुन क्लस्टरको प्रतिनिधित्व गर्छ भन्ने कुरा मुख्य हुन्छ।’

उम्मेदवारको सूचीमा कसलाई कहाँ राख्ने भन्ने विषयमा बालेनको टोलीभित्र आन्तरिक छलफल र बहस भइरहेको छ। बालेन आफैँ पनि विभिन्न क्लस्टरका प्रभावशाली तथा योग्य व्यक्तिहरूसँग प्रत्यक्ष संवादमा रहेको सचिवालयले जनाएको छ।

‘समावेशी र प्राविधिक रूपमा पनि मिलेको सूची बनाउनुपर्छ। त्यसका लागि बालेनले विभिन्न क्षेत्रका सरोकारवालासँग परामर्श गरिरहनुभएको छ,’ ती सदस्यले बताए।

यसैबीच बालेनको टोलीले अन्य नयाँ राजनीतिक शक्तिहरूको गतिविधिलाई पनि नजिकबाट नियालिरहेको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भइरहेको आन्तरिक भोटिङ र उम्मेदवार छनोट प्रक्रियालाई ध्यानमा राख्दै बालेनले आफ्नो राजनीतिक रणनीति तय गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!