
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षा गुणस्तर सुधार अनिवार्य भएको बताएका छन्।

वानेश्वर बहुमुखी क्याम्पसमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताए।
संयोजक प्रचण्डले भने, “शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने हाम्रो चाहना छ र सामुदायिक शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धिमा हाम्रो साथ रहनेछ।”
जेन–जी पुस्ताको आन्दोलनले युवापुस्ताको सक्रिय सहभागिता देखाएको भन्दै उनले अब देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिनुपर्नेमा जोड दिए। उनले युवाहरूप्रति धन्यवाद व्यक्त गर्दै भने, “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम गलत भएको छ। नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहन्छन्।”
प्रचण्डले युवालाई आग्रह गर्दै भने, “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ।”