
गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगितामा नेपाली सेनाका राजन रोकायले उपाधि जित्नुभएको छ।

गोरखा उद्योग वाणिज्य सङ्घले १२ औँ गोरखा महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गर्नुभएको हो। दौड गोरखा नगरपालिका–५ स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भई हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा सम्पन्न भएको थियो।
प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दोस्रो स्थान हासिल गर्नुभएको छ भने त्रिभुवन आर्मी क्लबका टङ्कबहादुर कार्की ३० मिनेट ५९ सेकेण्डमा तेस्रो हुनुभएको छ। नेपाल प्रहरीका सन्तोषनाथ योगी र सशस्त्र प्रहरी वलकी आष्मा बिकले सान्त्वना पुरस्कार पाउनुभएको छ।
उपाधि विजेताले ३० हजार रुपैयाँ, दोस्रो स्थानमा २० हजार, तेस्रो १० हजार र सान्त्वना पुरस्कारको रूपमा ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ।