
काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र साह एकै ठाउँमा देखिँदा पनि कुलमान घिसिङ अलग देखिनु दुःखद् भएको बताएका छन्।

मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गुरुङले अहिलेको समय कुनै अवसर नभई गम्भीर र निर्णायक परिस्थिति भएको उल्लेख गरेका छन्। यस्तो घडीमा परिवर्तन चाहने सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरिएको उनको भनाइ छ।
कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिनु नहुने उल्लेख गर्दै उनले निर्णायक समयमा कुलमान घिसिङ अलग देखिनु आम जनताका लागि निराशाजनक भएको बताएका छन्। कुलमानलाई जानाजानी अलग राखिएको हो कि उनी स्वयं अलग रहन खोजिरहेका हुन् भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिनुपर्ने अपेक्षा थियो,’ गुरुङले लेखेका छन्, ‘तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद् छ। अलग राखिएको हो कि अलग रहन खोजेका हुन्, समयले बताउनेछ।’
देशलाई अहिले सबैभन्दा बढी एकताको आवश्यकता रहेको भन्दै उनले बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङलाई एउटै प्रश्न गरेका छन्। एकताको नाममा कुलमानलाई अलग राखेर भ्रम फैलाइएको भए जेनजी पुस्ताले त्यसलाई नजिकबाट हेरिरहेको चेतावनीसमेत उनले दिएका छन्।
‘के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेनजीले हेरिरहेको छ,’ गुरुङले उल्लेख गरेका छन्।