
विराटनगर / क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको स्मृतिमा मनाइने पावन पर्व क्रिसमस डेका अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन्।

मेयर कोइरालाले जारी गरेको सन्देशमा क्रिसमस डे प्रेम, करुणा, क्षमा, सेवा र मानवीय एकताको प्रतीक भएको उल्लेख गर्दै येशु ख्रीष्टले देखाउनुभएको सत्य, शान्ति र परोपकारको मार्ग आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताए। उनले यस्ता मूल्यहरूले मानव समाजलाई सहिष्णु, नैतिक र सद्भावपूर्ण जीवनतर्फ अघि बढ्न प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गरे।
सन्देशमा विराटनगरलाई बहुधार्मिक, बहुसांस्कृतिक र बहुसाम्प्रदायिक सहरका रूपमा उल्लेख गर्दै मेयर कोइरालाले विभिन्न समुदायबीचको आपसी सम्मान, सहअस्तित्व र भाइचारालाई सहरको मुख्य शक्ति भएको बताए। उनले सबै धर्म, संस्कृति र समुदायबीच सद्भाव कायम गर्दै समावेशी, शान्त र समुन्नत विराटनगर निर्माणमा सामूहिक प्रयास आवश्यक रहेको पनि औँल्याए।
मेयर कोइरालाले क्रिसमस डेको अवसरमा क्रिश्चियन समुदायसहित सम्पूर्ण नगरवासीको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले क्रिसमस डेको उज्यालो सन्देशले समाजमा आपसी समझदारी, सहयोग र सामाजिक एकता थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरे।