हिपमत डटकम

शुक्रबार, मंसिर २७, २०८२ || 1447  पटक पढिएको

काठमाडौं, २६ मंसिर – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन्।

वर्षौंदेखि अलपत्र परेको पुल निर्माणबारे गुनासो आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार पुलको स्थलगत निरीक्षण गरे। उनले बाँकी काम, निर्माण तालिका र समस्या सम्बन्धमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरे।

मन्त्री घिसिङले मुख्य राजमार्गको पुल लामो समयदेखि नबनेकोले यात्रु असुविधामा परेको उल्लेख गर्दै विद्युत् लाइनको कारण काम रोक्न नहुने र तत्काल काम सम्पन्न गर्नुपर्ने बताए। उनले पुल नजिकको ११ केभी लाइनले निर्माणमा कुनै असर नगर्ने पनि स्पष्ट पार्नुभयो।

महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)का रवि सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। चार लेनको ९० मिटर लामो कंक्रिट पुल निर्माणको ठेक्का २४ असार २०७५ मा १७ करोड २२ लाख रुपैयाँ (करसहित)मा सम्झौता भएको थियो। सुरुमा पुल असार २०७८ भित्र सम्पन्न गर्ने योजना थियो भने पछिल्लो म्याद थप बमोजिम पुसभित्र सम्पन्न गर्नु पर्नेछ। पुलको भौतिक प्रगति अहिले ८५ प्रतिशत पुगेको छ।

मनमत—कलैया—मटिरवा सडक निर्माणमा ढिलाइ, स्थानीयको असन्तुष्टि

हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत—कलैया—मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

मधेश प्रदेशका बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत् आयोजनाको प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका मन्त्री घिसिङलाई स्थानीयले सदरमुकाममा सडक नबनेको कारण असुविधा भोग्नु परेको जानकारी गराए। मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको भन्दै ठेक्का उपयुक्त निर्णयअनुसार अगाडि बढाइने बताए।

करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८ मा सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो। सुरुमा १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो भने दोस्रो म्याद ४ चैत २०८२ मा सकिँदैछ।

सडक निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण हाल भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ। गत ३१ असोजमा ठेक्का अन्त्य किन नगर्ने भन्दै व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो। त्यसपछि व्यवसायी निर्माणस्थलमा परिचालित भए पनि उल्लेखनीय प्रगति अहिलेसम्म हासिल भएको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!