
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्षहरूमा झनै सुस्त गतिमा अघि बढ्ने ब्रिटिश चेम्बर्स अफ कमर्स (बीसीसी) ले अनुमान गरेको छ। नोभेम्बरमा प्रस्तुत गरिएको बजेटले अर्थतन्त्रमा अपेक्षित गतिशीलता नल्याउने बीसीसीले स्पष्ट पारेको छ।

संस्थाका अनुसार सन् २०२६ मा बेलायतको जीडीपी वृद्धि १.२ प्रतिशतमा सीमित रहनेछ, जुन सन् २०२५ का लागि अनुमान गरिएको १.४ प्रतिशत भन्दा कम हो।
व्यावसायिक लगानी पनि कमजोर रहने अनुमान छ—सन् २०२५ मा ३ प्रतिशतले बढ्ने आकलन गरिएको लगानी सन् २०२६ मा झरेर ०.९ प्रतिशत मात्र रहनेछ।
व्यापार क्षेत्रमा पनि मंदीको संकेत देखिएको छ।
निर्यात वृद्धि ३% बाट घटेर १.८ddआयात वृद्धि ३.८% बाट घटेर १.४% नजिक रहने अनुमान गरिएको छ।
बीसीसीले औसत आम्दानी क्रमिक रूपमा बढे पनि बेरोजगारी दर ५.१ प्रतिशत सम्म पुग्ने सम्भावना रहेको बताएको छ। लागत वृद्धि, न्यून उत्पादकता र सीमित उत्पादन क्षमताले कम्पनीहरूको भर्ती प्रक्रिया कमजोर बनाउने बताइएको छ।
तर, ढिलो गतिमा बढ्ने तलब तथा श्रम बजारको सुस्तताले मुद्रास्फीति केही हदसम्म नियन्त्रणमा रहने बीसीसीको निष्कर्ष छ।
बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियर भन्छन्,
“बेलायतको अर्थतन्त्र कमजोर गतिमा अघि बढिरहेको छ। यसले आगामी वर्षहरूमा वित्तीय तथा राजनीतिक चुनौती थप्नेछ। साना–मझौला व्यवसायका लागि २०२६ विशेष गरी कठिन वर्ष बन्न सक्छ।”
बीसीसी आर्थिक सल्लाहकार परिषद्की अध्यक्ष विक्की प्राइस ले चेतावनी दिइन्,
“यदि बजेटमा आवश्यक वृद्धि–प्रेरक नीतिहरू समावेश भएनन् भने व्यवसायहरूले आगामी वर्ष पनि चुनौतीपूर्ण अवस्था झेल्नुपर्नेछ। बढ्दो बेरोजगारीले उपभोक्ता खर्च घटाउनेछ, जसले कम्पनीहरूलाई थप समस्यामा पार्नेछ।”