



विराटनगर । च्याम्पियन्स कराँते एकेडेमीले भारतमा नोभेम्बर २२ र २३, २०२५ मा सम्पन्न भएको प्रतिष्ठित इन्डोरेन्स वर्ल्ड च्याम्पियनसिप स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ६ देखि ९ वर्ष उमेर समूहका युवा खेलाडीहरूलाई सम्मान गरेको छ। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा यी खेलाडीहरूले नौ देशका प्रतिस्पर्धीहरूसँग भिड्दै नेपालको प्रतिनिधित्व गरेका थिए।


युवा प्रतिभाहरूको खेल कौशल र लगनशीलताको उच्च कदर गर्दै आयोजित सम्मान समारोहमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र लामाले खेलाडीहरूलाई बधाई दिए। कार्यक्रमको सभापतित्व च्याम्पियन्स कराँते एकेडेमीका सञ्चालक सुरज कामतले गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा विराटनगर महानगरपालिका स्वास्थ्य शाखा संयोजक डा. दिलीप कुमार यादव, पारसमल्टिस्पेशालिटी हस्पिटलका सञ्चालक डा. सफीउर रेमान, र मोरङ जिल्ला कराते सङ्घका प्रतिनिधि रहनुभएको थियो। रोडसेस डेन्टल एण्ड ओरल क्लिनिकका सञ्चालक डा. शेखर कुमार मण्डल, उद्योगपति तथा समाजसेवी देवकीनन्द अग्रवाल, युवा नेताहरू वीरेन्द्र कुमार शाह र राकेश रोशन यादव पनि अतिथि थिए।
कार्यक्रममा बोल्दै पारस मल्टी स्पेसियालिटी हस्पिटलका सञ्चालक डा. सफीउर रेमानले खेलाडीहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै च्याम्पियन्स कराँते एकेडेमीसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए। यसैगरी, रोडशेष डेन्टल एण्ड ओरल क्लिनिकका सञ्चालक डा. शेखर कुमार मण्डलले पनि युवा खेलाडीहरूको मौखिक स्वास्थ्यको लागि एकेडेमीसँग सहकार्य गर्ने घोषणा गरे।