
काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करण गरी मंगलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपीएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मंसिर १ गतेदेखि जारी छ ।

पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन् । नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन् । जारी संस्करणको २१औँ खेलमा मंगलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे । कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उक्त खेलमा ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दी म्याचसमेत घोषित भए । एडम इंग्ल्यान्डका हुन् ।
यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । उक्त खेलमा ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले ९ विकेटले जितेको थियो । वाट प्लेयर अफ दी म्याचसमेत चुनिए । एनपीएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन्
एनपीएलको पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीका विरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलम शतक पूरा गरेका थिए । उक्त खेलमा उनले अविजित १०४ रन बनाए ।
अर्धशतकमा पनि विदेशीकै दबदबा
जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन् । यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् । नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन् ।
अर्धशतक हिकाउने विदेशी खेलाडीमा चितवन राइनोजका रवि बोपरा (तीन), कर्णाली याक्सका प्रियांक पाञ्चाल (दुई) तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह, पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमान्डू गोर्खाजका जोन सिम्प्सन (एक-एक) रहेका छन् ।
अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल (दुई) तथा सुदूरपश्चिमका विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, जनकपुरका अनिल शाह र आशिफ शेखले (एक-एक) रहेका छन् ।
सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै रहेका छन् । एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा पोखराका एडम रोसिङ्टन पहिलो नम्बरमा रहेका छन् । उनले हालसम्म पाँच खेलमा २५३ रन हिर्काएका छन् ।
दोस्रो नम्बरमा ६ खेलमा २४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा २०७ रनसहित चितवनका रवि बोपरा, छ खेलमा १८१ रन जोडेका कर्णालीका प्रियांक पाञ्चाल चौथोमा तथा पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल (१७४ रन) रहेका छन् ।
बलिङमा नेपाली खेलाडी अब्बल
सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन् । सुदूरपश्चिमका अविनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन् ।
विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा काठमान्डूमा आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार र चौथोमा काठमान्डूका कप्तान करण केसी रहेका छन् । मिलिन्द र करणले ६ खेलमा दश-दश विकेट छन् । यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिममा आबद्ध विदेशी खेलाडी हर्मित सिंह रहेका छन् ।
एनपीएलम विराटनगर र पोखराको उच्च स्कोर
एनपीएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ । विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो । यो हालसम्मकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा रहेको छ । पोखराले कर्णालीकाविरुद्ध २०१ रन जोडेको थियो ।
यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन छ । चितवनले काठमान्डू गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करणमा आठ टोली सहभागी छन् । हालसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ । अन्य टोलीको छिनोफानो हुन बाँकी छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ ।