
काठमाडौं — प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

बर्तौलाका अनुसार, “असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनर्स्थापना गर्न माग गर्दै एमाले संसदीय दलको तर्फबाट रिट पेस गरिएको” हो।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसपछि सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तोकेको छ।
एमाले भने प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहराउँदै निरन्तर विरोध गर्दै आएको छ।