
विराटनगर — कोशी प्रदेशबाट हालसम्म एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली दर्ताका लागि निवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु भएको थियो।

मङ्सिर ५ गतेसम्मको अवधिमा, निर्वाचन कार्यालयमार्फत ५८ हजार ९२५ र अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि आवेदन दिएका छन्। जिल्लागत विवरण यस प्रकार छ:
ताप्लेजुङ: ३,०००
पाँचथर: ४,३८९
इलाम: ६,०६४
सङ्खुवासभा: २,८०८
तेह्रथुम: ३,६७७
धनकुटा: ३,२७२
भोजपुर: २,९०९
खोटाङ: ४,१६२
सोलु: ५८०
ओखलढुङ्गा: ५,९३२
उदयपुर: ८,७१७
झापा: ३५,३१९
सुनसरी: ३२,३८२
प्रदेश निर्वाचन कार्यालय विराटनगर: ४४,४०२
निर्वाचन आयोगले नागरिकलाई आफू बसेको स्थान वा अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिने सुविधा उपलब्ध गराएको थियो। प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार, सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराए पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका मात्र आगामी फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न सक्नेछन्।
सूचना अधिकारीका अनुसार, निवेदन दिनेहरूमा दोहोरिएको आवेदन हुनसक्ने, अन्य जिल्लामा आवेदन दिइसकेकाहरू समेत हुनसक्ने, त्रुटि भएका विवरण सच्याइने, स्थान सारिएका सबैको विवरण अद्यावधिक गरि मङ्सिर २० गते अन्तिम नामावली निर्वाचन आयोगमा पठाइने योजना छ।
गत असोज १० गतेसम्म कोशी प्रदेशमा कुल ३४ लाख ३३ हजार ९०० मतदाता थिए।