
काठमाडौँ । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार ढंगले निर्णय गर्दै भ्रष्टाचार, पक्षपात र कुशासनलाई संस्थागत गरेको आरोप लगाउँदै सरकारी नेतृत्व बदल्न माग गरेको छ।

संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँ नोक्सानी पुर्याएको, अर्थमन्त्री रामेश्वर खनालले ‘डोल्मा’लाई अवैध कर छुट दिएको, महान्यायाधिवक्ता सविता बराल भण्डारी किशोरीका डिम्ब विक्रीमा संलग्न रहेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको जस्ता आरोपहरू लगाएको छ। साथै गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा पद सिर्जना गरी संगठित दुराचार गरेको दाबी गरिएको छ।
जनेजी मुभमेन्टका अनुसार यसले विद्रोहका आदर्श र सुशासनका लागि बलिदान दिएका सहिद–घाइते तथा नेपाली जनताप्रति गम्भीर अपमान भएको छ, र सरकार नैतिकता तथा जनविश्वास दुवै गुमाएको छ।
विज्ञप्तिमा भनिएको छ, “अतः हामी सुशीला कार्कीलाई तत्काल राजीनामा दिन, जनेजी विद्रोहको भावना र जनआकांक्षामाथि आक्रमण नगर्न आग्रह गर्दछौँ। सत्ता कब्जा गरेर बनेको यो सरकार र मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गरी अवज्ञा गर्न देशभरिका नागरिकलाई आह्वान गर्दछौँ।”