सुर्खेत । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले अध्यक्ष प्रचण्डले अघि बढाएको ‘नाटकीय एकता प्रक्रिया’मा सहभागी नहुने घोषणा गर्दै जनार्दन शर्माद्वारा सञ्चालन भइरहेको ‘प्रगतिशील राष्ट्रिय अभियान’तर्फ उन्मुख हुने निर्णय गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमार्फत पार्टीभित्र व्याप्त विकृति–विसंगति, अनियमितता र भ्रष्टाचारविरुद्ध दृढ आवाज उठाइने उल्लेख गरेका छन्।

नगर कमिटीले प्रचण्डले पार्टीभित्रका विविध काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति शुद्धीकरण, संगठनात्मक रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता तथा समयमा महाधिवेशन जस्ता अपरिहार्य मुद्दाहरूमा ध्यान नदिई ती सबैलाई ‘डम्पिङ साइट’ मा फालेको भन्दै आरोप लगाएको छ।

अध्यक्ष खड्काले भने, “वृहत् वाम एकताको नाममा केही पार्टी र नेतासँग गरिएको नाटक हामी स्वीकार गर्न सक्दैनौँ।” उनले प्रचण्डले भूतपूर्व विवादित र भ्रष्टाचार छानबिनमा रहेका व्यक्तिसँग एकता गरेको भन्दै आलोचना गरेका छन्। उनका अनुसार, “माओवादी विचार र दृष्टिकोणलाई विसर्जन गरेर सिर्जना गरिएको नाम मात्रको कम्युनिस्ट पार्टी नेपाली जनताको लागि दुखद क्षण बन्न सक्छ।”

विज्ञप्तिमा प्रचण्डले “आफैं बसेको झुपडी जलाएर अर्को बहुमहले घरमा पुगेको” टिप्पणी पनि गरिएको छ। साथै, जनयुद्ध र जनआन्दोलनका मूल्य–मान्यतामा आधारित, नयाँ विचार र नयाँ कार्यभारसहित युवापुस्ताले अपनत्व गर्ने गरी नयाँ पार्टी निर्माण आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

अन्त्यमा, नगर कमिटीले प्रचण्डको एकता प्रक्रियामा नजाने निर्णय गर्दै माओवादी नेता तथा कार्यकर्तालाई पनि यस्तो ‘एकताको नाटक’ मा सहभागी नहुन अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!