
धनुषा–सिरहा सीमामा पर्ने कमला नदीमा कार्तिक पूर्णिमाको पावन अवसरमा “कुलदेवता स्नान मेला” भव्य रूपमा सम्पन्न भएको छ। मेला मंगलबार साँझदेखि सुरु भएर बुधबार बिहान सूर्योदयसँगै पूजा–पाठ र पवित्र स्नानसँगै सम्पन्न भएको हो।

धामी–झाँक्री, भगता र भक्तजनहरू घरका कुलदेवता खेलाउँदै नदी किनारमा भेला भएका थिए। रातभर भूत–बैताल र देव–देवीको साधना सम्पन्न गरेपछि, बिहानै स्नान गरी दही–च्यूरासहित पूजा–अर्चना सम्पन्न गरी घर फर्किएका छन्।
स्थानीय जनविश्वास अनुसार, कमला नदीलाई गंगाको स्वरूप मानिन्छ र यस दिन हजारौं भक्तजन स्नान गर्न आउने गर्दछन्। धामी गुरु मोहन महतोका अनुसार, “कात्तिक शुक्ल पूर्णिमामा भूत–बैताल र देव–देवीहरूको साधना गरेर आत्मशुद्धि गर्न सकिन्छ, र नयाँ धामी–झाँक्री बन्ने शुभ अवसर पनि यही दिन हो।”
कमला नदीका विभिन्न घाटहरू—उत्तराहिणी, सिमरा, चिकना, भोक्सा, सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया र इनर्वा—भक्तजनले पूर्ण रूपमा भरिएका थिए। महोत्तरी, धनुषा, सिराहा, सर्लाही, सप्तरीका साथै भारतका सीमावर्ती गाउँहरूबाट पनि धामी–झाँक्रीहरू ढोल, घण्टी र घुँघरू बजाउँदै आएका थिए।
पहेँलो धोती र सारीमा सजिएका नवधामी–झाँक्रीहरूले हातमा बेतको छडी घुमाउँदै मन्त्र जप गरी कमला घाटमा पुगे। सूर्योदयसँगै पवित्र स्नान र शक्ति प्राप्तिको अनुष्ठान सम्पन्न भएको थियो। स्नानपश्चात भक्तजनहरूले नदीको शुद्ध जल घरमा लैजान र पूजामा शुद्धताको प्रतीकका रूपमा प्रयोग गर्ने परम्परा रहेको छ।
स्थानीय अनुसार, विजया दशमीदेखि सक्रिय भएका धामी–झाँक्रीहरूले कालीपूजासम्म साधना पूरा गरी कात्तिक पूर्णिमामा देवतालाई स्थायी बासको निम्तो दिने परम्परा रहँदै आएको छ। यसरी कमला नदी मेला धार्मिक आस्था, तान्त्रिक परम्परा र मिथिला क्षेत्रको सांस्कृतिक पहिचानको अद्भुत संगमको रूपमा स्थापित भएको छ।

