
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आयोजक समितिको बैठक छठ पर्व लगत्तै बस्ने भएको छ । जेनजी विद्रोहपछि असोज ८ गते बसेको विशेष बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पदत्याग गरेपछि उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।

पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार अब बस्ने बैठकले महाधिवेशनको मिति घोषणा गर्नेछ । उनका शब्दमा, “दुर्गा सोवको संयोजकत्वमा गत महाधिवेशनमा पराजित भएकासहित केन्द्रीय समिति पुनर्गठन गरिएको छ । छठ लगत्तै हुने बैठकले मिति र तयारीबारे निर्णय लिन्छ । हाल देशभर अभियानमा जुटिरहेका छौँ,” उनले भने ।
प्रवक्ता शर्माका अनुसार आगामी महाधिवेशनमा डा. भट्टराईले नेतृत्वमा पुनः प्रतिस्पर्धा नगर्ने भएका छन् । उनी पार्टीको संरक्षकका रूपमा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्न लाग्नेछन् । “उहाँले नयाँ र वैकल्पिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने पहल गर्नुभएको छ,” शर्माले बताए ।

अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले नयाँ शक्तिले पनि त्यसका लागि तयारी तीव्र बनाएको छ । तर कुन–कुन दल वा समूहसँग छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।
शर्माका अनुसार डा. भट्टराईले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेकोमा पछुतो प्रकट गरेका छन् । “गोरखाका जनताले फेरि उहाँलाई उम्मेदवारका रूपमा देख्न चाहेका छन्, र उहाँ पनि आगामी निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने तयारीमा हुनुहुन्छ,” शर्माले भने ।
२०७२ सालमा संविधान बनेपछि माओवादी पार्टी छोड्दै नयाँ शक्ति गठन गरेका डा. भट्टराईले त्यसयता संघीय समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी पार्टी हुँदै गत वर्ष माघमा पुनः नयाँ शक्ति पुनर्गठन गरेका थिए ।