रंगेली।छठ पर्व नजिकिँदै जाँदा बाँसका चोयाबाट बनेका सुप्पा, ढक्की र कोनियाको माग बढेसँगै रंगेली क्षेत्रका माझी समुदायका परिवारहरू उत्पादनमा व्यस्त भएका छन्।
रंगेली नगरपालिका–६ का माझी टोल र मल्कालिक टोलका करिब ६० घरधुरी अहिले बिहानदेखि साँझसम्म बाँसका सामग्री बनाउन तल्लीन छन्। उनीहरू तराई क्षेत्रमा पाइने बाँसबाट चोया निकालेर छठ पर्वमा प्रयोग हुने ढक्की, सुप्पा, कोनिया र ढाला तयार गर्छन्।
पुर्ख्यौली पेशा भएको यस कामबाट विगतमा राम्रै आम्दानी हुने गरे पनि अहिले भारतीय व्यापारीहरूले सस्तो मूल्यमा यस्ता सामग्री नेपालमै ल्याएर बिक्री गर्ने भएकाले स्थानीयहरूको रोजीरोटीमा असर परेको माझी समुदायका रुपेश मल्लिकले बताए।
“बाँस महँगो भएको छ, मेहनत पनि धेरै पर्छ, तर आम्दानी पहिलेको जस्तो छैन,” मल्लिकले भने।
उनीहरूले तयार पारेका सामग्री रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारमा बिक्री गर्छन्। एक व्यक्तिले दैनिक ८ देखि १० वटा सुप्पा बनाउन सक्छ भने एउटा बाँसबाट ५ देखि ६ वटा सामग्री उत्पादन हुने गर्छ।
यस वर्ष सुप्पा प्रतिगोटा रु.१५०, ढक्की रु.३०० देखि ३५० र ढकना रु.१०० सम्ममा बिक्री भइरहेको छ। माझी समुदायका अनुसार हाल बजारमा छठ पर्वका सामग्री खरिद गर्न आउने ग्राहकहरूको चहलपहल पनि बढ्दै गएको छ।