काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवसका रूपमा मनाइने असोज ३ लाई यस वर्ष पनि ‘कालो दिन’का रूपमा मनाउने भएको छ।
मोर्चाका केन्द्रिय सचिवालय संयोजक डा. शिवजी यादवद्वारा जारी विज्ञप्तिमा मधेशको असहमति हुँदाहुँदै २०७२ असोज ३ मा जबरजस्ती संविधान लादिएको आरोप लगाइएको छ। सो दिन प्रहरीको गोलीबाट मधेशका थुप्रै सपुतको ज्यान गएको भन्दै संविधान अपूर्ण र अधुरो रहेको मोर्चाको ठहर छ।
मोर्चाले असोज ३ मा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने जनाएको छ।
यस्तै, जेनजी आन्दोलनको क्रममा अराजक तत्वद्वारा सरकारी संरचनामा भएको क्षतिबाट भएको नोक्सानीको छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरिएको छ।
मोर्चाले नयाँ सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी मूल्य–मान्यता अनुसार अघि बढ्न सुझाव दिएको छ।