
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई समर्थन जनाउँदै राजनीतिलाई सफा गर्नु जरुरी रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक टिप्पणी गर्दै श्रेष्ठले उक्त आन्दोलनले राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका हुन्।

श्रेष्ठले जेनजी पुस्ताले काठमाडौँ लगायत देशका विभिन्न भागहरूमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता सहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि गरेको विरोध प्रदर्शन र संघर्षप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।
उनले आजको मुलुकको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको बताउँदै त्यसका लागि निजी स्वार्थमा केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिको अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी भएको धारणा राखेका छन्।
“मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ,” श्रेष्ठले भनेका छन्, “जेनजी आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट देशलाई मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्याउन सफल हुनेछ।” श्रेष्ठले जेनजी आन्दोलनको सफलताको कामना समेत गरेका छन्।