काठमाडौं । तीजको अवसरमा गायिका मिना ढकालको नयाँ तिज गीत ‘न कसैसँग केही लिनुछ’ सार्वजनिक गरिएको छ ।
पिंचु भर्सेस मिन्चु युट्युब च्यानलमार्फत शुक्रवार बिहान सार्वजनिक गरिएको उक्त गीतले महिलाहरूको जीवनमा आउने मनोवैज्ञानिक पीडा, घरेलु हिंसा, र श्रीमान–श्रीमतीबीचको मनमुटावजस्ता विषयलाई उजागर गर्दै सशक्त सन्देश दिएको छ।
गीतमा गायिका मिना ढकालको स्वर र शब्द रहेको छ भने संगीतकार बिक्रम थापा र संगीत संयोजक बिसन मानन्धर हुन्। राहुल बराईलीको निर्देशनमा बनेको गीतको भिडियोमा मिना ढकालसँगै प्रिन्स, गोमा केसी लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
गीतमा श्रीमान र श्रीमतीबीच हुने झगडा, हिंसा र मनमुटावका दृश्य समेटिएको छ, तर अन्त्यमा यस्तो व्यवहार गलत हो र नागरिकले जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिइएको छ। गायिका मिना ढकालका अनुसार, “यी दृश्यहरू अहिले पनि धेरै महिलाहरूको दैनिकीमा विद्यमान छन्। गीतमार्फत हामीले समाजलाई सोच्न बाध्य पार्ने प्रयास गरेका छौं।”
गीतले नारीको महिमा, गरिमा र आत्मसम्मानलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरेको छ। तिजजस्तो महान चाडको अवसरमा सार्वजनिक गरिएको यस गीतले नेपाली महिलाहरूको भावना, पीडा र आशालाई बोलेको कारण सबै दिदीबहिनीहरूलाई मन पर्नेमा गायिका ढकालले विश्वास व्यक्त गरेकी छिन्।
सामाजिक सन्देशसँगै भावनात्मक पक्षलाई समेत समेटिएको यस गीतलाई दर्शक तथा स्रोताहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्।