काठमाडौं — कक्षा १२ को परीक्षा परिणाम आज (सोमबार) साँझ सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी गरिएको छ।
बोर्ड स्रोतका अनुसार आइतबार (हिजो) नतिजाको डेमो परीक्षण गरिएको थियो। “हिजो डेमो गरिएको थियो, आज नतिजा सार्वजनिक गर्ने तयारी छ,” स्रोतले जानकारी दियो।
शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक भइसक्नुपर्ने थियो। तर गत चैत २० देखि सुरु भएको शिक्षक आन्दोलनका कारण परीक्षा ढिला हुनुका साथै नतिजा सार्वजनिक प्रक्रियामा समेत असर परेको हो।
यस वर्षको कक्षा १२ को परीक्षा गत ११ वैशाखमा सुरु हुने तय भएपनि आन्दोलनका कारण २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।
उक्त परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।