पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ४ को शनिश्चरेमा अवस्थित भागिरथ माध्यमिक विद्यालयमा निर्माण गरिएको ग्रीनहाउस टनेल निर्माण सम्पन्न भएको केहि समयमै भत्किएको छ ।

तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त संरचना प्राविधिक त्रुटिका कारण भत्किएको भन्दै विद्यालय प्रशासन र स्थानीयबासी आक्रोशित बनेका छन् ।

नगरपालिकाद्वारा विद्यालयको तीनवर्षे बाली विज्ञान संकायका विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विनियोजित बजेटमा टनेल निर्माण गरिएको थियो। तर निर्माण सम्पन्न भएको केही दिनमै टनेलको संरचना कमजोर हुँदै गयो र अहिले आएर आधा भाग पूर्ण रूपमा भत्किएको छ।

विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङले टनेल निर्माणमा उपभोक्ता समिति र निर्माणकर्ताले कुनै पनि लापरवाही नगरेको स्पष्ट पार्दै भनिन्, “प्राविधिकले तयार पारेको स्टिमेट अनुसार नै काम गरिएको हो। संरचना भत्किनुमा प्राविधिकको कमजोरी जिम्मेवार छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीले पनि निर्माणको सम्पूर्ण जिम्मेवारी प्राविधिकलाई दिएको जनाउँदै दुःख व्यक्त गरे। उनले भने, “हामीसँग यस्तो संरचना निर्माणको अनुभव थिएन। त्यसैले नगरपालिकाका प्राविधिक रञ्जित राजवंशीको सल्लाह अनुसार काम गरेका थियौं। तर, वहाँबाटै गल्ती हुँदा यो अवस्था आयो।”

टनेल निर्माणको मुख्य उद्देश्य विद्यार्थीलाई व्यवहारिक कक्षा सञ्चालन गराउनु थियो। तर प्रयोग गर्न नपाउँदै टनेल भत्किएपछि विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि निराश बनेका छन्। कतिपय अभिभावकहरूले सम्बन्धित पक्षको गम्भीर लापरवाहीप्रति आक्रोश पोखेका छन्।

यस्तै वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपानेले पनि घटनाप्रति चिन्ता व्यक्त गरेका छन् , “टनेल भत्किनु एकदमै दुःखद विषय हो । यसमा कहाँ गल्ती भयो भन्नेबारे छानबिन आवश्यक छ।”

स्थानीयबासीले पनि सार्वजनिक श्रोतको बजेटबाट निर्माण भएको संरचना यति छिट्टै भत्किनु आपत्तिजनक रहेको भन्दै दोषीको पहिचान र कारबाहीको माग गरेका छन् ।

यद्यपि उक्त घटनाको विषयमा बुझ्दा नगरपालिकाका प्राविधिक रञ्जित राजवंशीले आफ्नो त्रुटि नरहेको बताए । नगरपालिकामै पहिलोपटक त्यस्तो संरचना निर्माण गरिएको हुनाले सानोतिनो कमिकमजोरी भएको हुन सक्ने उल्लेख गर्दै नियतवश गल्ति नगरेको राजवंशीको भनाई छ । पुर्वाधार विकाश शाखाका प्रमुख ईन्जिनियर हसरत अलिले भने उक्त घटनाको विषयमा अनभिज्ञता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!