विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार, जो ‘मन्टु’ नामले चिनिन्छन्, ले आम सर्वसाधारणलाई झुठा तमसुक बनाएर आतंक मच्चाएको पाइएको छ। मिटरब्याजकै कारण झन्डै १६ महिना जेल बसेर निस्किएपछि उनले एक दर्जनभन्दा बढी सर्वसाधारणलाई झुठा तमसुकका आधारमा अदालतसम्म पुर्याएको खुलेको छ। मन्टुकबाट पीडित भएका १७ जनाभन्दा बढी मिटरब्याज पीडितहरूले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई पुनः दुख दिन थालेको बताएका छन्।
‘मिटरब्याज’ को नाममा आर्थिक विपन्न, अशिक्षित र कमजोर वर्गका मानिसलाई आर्थिक र मानसिक रूपले पीडा दिने मन्टुको शृंखला जेलबाट बाहिर आएपछि झन् भयावह बन्दै गएको पीडितहरूले बताएका छन्।
विराटनगर ७ की मन्जु शाक्य ले मन्टुबाट १७ लाख रुपैयाँ लिएकोमा अहिले ब्याजको स्याज, र स्याजको ब्याजसहित १ करोड ५ लाख रुपैयाँ मन्टुलाई दिइसकेको बताइन्। “२०७६ सालदेखि पटक पटक गरेर तिर्दै आएँ,” शाक्यले भनिन्, “फेरि पैसा नपुगेर मैले घर बेचेँ। अघिल्लो वर्ष २०८१ साउनसम्म १ करोड ५ लाख तिरिसकेँ तर पनि मेरो अन्य जग्गाहरू रोक्का गरेको छ।”
मन्टुले विराटनगर–२ की ५२ वर्षीया मन्जु शर्मा विरुद्ध २०८१ फागुन १३ मा मोरङ जिल्ला अदालतमा ‘लेनदेन’ सम्बन्धी मुद्दा दायर गरेका थिए। उनीमाथि २ लाख रुपैयाँको साँवा र ब्याजसहित ३ लाख ९९ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने मन्टुको दाबी छ। पीडित मन्जुको भनाइ अनुसार, उनले मन्टुसँग २०७१ साल फागुन २५ गते ५० हजार रुपैयाँ मात्र लिएकी थिइन्। तर, मन्टुले २ लाख रुपैयाँको कपाली तमसुक बनाएका थिए। चार वर्षभित्रै मन्जुले कर्जा चुक्ता गर्न ३ लाख ५० हजार रुपैयाँ भुक्तान गरिन्। त्यसबेला उनले विराटनगर २ मा रहेको ११ धुर जग्गासमेत बिक्री गरिन्। ऋण फर्छ्योट भएपछि मन्टुसँग तमसुक फिर्ता माग्दा उनले बहाना गरिरहे। केही समयपछि मन्टु ठगी र आपराधिक लाभको अभियोगमा जेल गएपछि मन्जुले जेलसम्म पुगेर पनि तमसुक मागिन्, तर उनको मागलाई बेवास्ता गरियो।
मन्जुले अदालतमा दायर भएको फिरादपत्र देखाउँदै अहिले उनी श्रीमान् र दुई नातिनीसहित भाडाको घरमा बसिरहेको र अदालतको तारेखमा धाउनु उनको बाध्यता बनेको बताइन्।
त्यस्तै मोरङको धनपाल थानका गणेश राय को लेनदेनको विवाद २०७७ सालमा नै मिलेको थियो। तर, अहिले २०८२ सालमा आएर फेरि ३२ लाख रुपैयाँ दिनुपर्ने भन्दै धम्काउने गरेको बताएका छन्। रायका अनुसार, जिल्ला प्रहरी कार्यालयबाट राति १० बजेपछि ‘म प्रहरी हो’ भन्दै धम्काउने गरेका छन्।
विराटनगर ५, चाँदनी चोकका ३७ वर्षीय गोपाल राउत ले पनि २०७६ सालमा व्यवसाय गर्नको लागि १० लाख रुपैयाँ लिएका थिए। “मैले ३ महिनापछि ५ लाख फिर्ता गरेँ,” राउतले भने, “मैले ५ लाखको बालुवा गिट्टी झारिदिएँ, हाम्रो सबै हिसाबकिताब मिलिसकेको थियो। फेरि अहिले घरमा भारतीय नम्बरको मोटरसाइकलमा नचिनिएका मानिसहरू पठाएर ‘मन्टुको पैसा तिरिनस् भने बाँच्दैनस्’ भन्ने जस्ता शब्दहरू प्रयोग गरेर धम्काउने गरेका छन्।”
मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि दिइएको छ। उजुरी दिनेहरूमा एकलाख मिया, गुल्जार मियाँ, दीपक कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोशनी खातुन, मिना शाक्य, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दीपक कुमार रायलगायत छन्।
सुनवर्षी नगरपालिका–४ का अमित यादव ले मन्टु जेलबाट छुटेपछि आतंक फेरि सुरु भएकोले सामूहिक रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको बताए। “जेलबाट छुटेपछि आएर हामीले फिर्ता पाएको जग्गाको पैसा माग्न थाले,” यादवले भने, “हुलाकमार्फत धम्कीपूर्ण चिठी पठाउने गरेका छन्।”
२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र आपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि उनले चिठी पठाएर पैसा माग्न थालेको सर्वसाधारणको भनाइ छ। पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याजसहित बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए। तर, अब फेरि मन्टुले ‘अझै पैसा तिर्नु बाँकी छ’ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको उनीहरूको गुनासो छ।
मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र आपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए। २०७७ माघ १३ मा मन्टुविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो। मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र आपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, र दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबीसहित मुद्दा दायर भएको थियो।
२०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि उनी मोरङ कारागार चलान भएका थिए। कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे। त्यसबेला निवेदकहरू र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियारलाई अख्तियारी दिएका थिए। सोही सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो र २०७९ जेठ ९ गते सफाइ पाएर मन्टु जेलमुक्त भए।
जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ जनामध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका छन्। मन्टुले भने आफूले बिक्री गरेको जग्गाको पैसा मागेको बताउने गरेका छन्। सर्वसाधारणलाई मुद्दा लगाएको विषयमा मन्टुसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।