रंगेली। मोरङको रंगेली नगरपालिका-७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा राष्ट्रिय क्याडेट कोर एनसीसी को तालिम पहिलोपटक सुरु भएको छ। राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिम को पहिलो चरणको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो।
विगत वर्षहरूमा विद्यालयले उक्त तालिमका लागि आवेदन पेस गरे पनि गत वर्ष छनोट प्रक्रियामा समस्या आएपछि यस वर्ष मिनिल्याण्ड स्कुल छनोट भएको हो। कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलीपकुमार अग्रवाल, विशिष्ट अतिथि शिवदल गण, थलाहाका गणपति प्रमुख सेनानी अरुण कार्की, र सेनानी हेमकुमार शिवाकोटी सहित विद्यालयका प्रिन्सिपल बिकर्ण कार्की, अभिभावक तथा अन्यको उपस्थिति रहेको थियो।
NCC तालिमका लागि १५ जना छात्र र १५ जना छात्राहरूलाई सेनानीले एनसीसी तालिमको महत्त्व, नियम, र राष्ट्रसेवाको भावनाबारे जानकारी गराएका थिए। साथै, तालिममा सहभागी हुने विद्यार्थीहरूलाई उनीहरूको भूमिकाका बारेमा पनि स्पष्ट पारिएको थियो। विद्यालयका प्रिन्सिपल बिकर्ण कार्कीका अनुसार यो तालिम तीन महिनासम्म चल्नेछ।