काठमाडौँ।गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आइतबार आयोजित एक समारोहबीच मास्टर्स अफ पुलिस साइन्सेस (MPS) कार्यक्रम समावेश भएको पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (PLSC Batch 01) को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त पुलिस लिडरसिप एण्ड स्टाफ कोर्सको समुद्घाटन गर्नुभएको हो।
समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको र राष्ट्रको सेवामा समर्पित नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा आधुनिकीकरणको शुभारम्भ भएको उल्लेख गर्दै आजको क्षण प्रहरी संगठनका लागि एउटा ऐतिहासिक उपलब्धि भएको चर्चा गर्नुभयो। यस क्षणलाई मूर्त रूप दिन आ-आफ्नो ठाउँबाट योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूलाई बधाई व्यक्त गर्नुका साथै आगामी दिनका लागि शुभकामनासमेत उहाँले व्यक्त गर्नुभयो।
गृहमन्त्री लेखकले नेतृत्व विकासका लागि क्षमता, सीप, व्यावसायिकता, इमानदारीता र प्रतिबद्धता आवश्यक रहेको चर्चा गर्दै अहिलेको विश्वव्यापीकरण र सामाजिक रूपान्तरणले विभिन्न चुनौती, जोखिम र खतराहरू थपिरहेको अवस्थामा परम्परागत पद्धतिले भन्दा पनि यस कोर्सले ती चुनौतीहरूको पहिचान गरी समाधान गर्न सक्षम हुने र प्रहरी संगठनलाई थप मजबुत बनाउन फलदायी हुने बताउनुभयो।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले भावी नेतृत्व विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस कोर्समार्फत समाजमा देखा परेका आधुनिक चुनौतीहरूको सामना गर्न दक्ष एवम् क्षमतावान् प्रहरी अधिकृतहरू तयार हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत प्रविधिहरूबाट प्रभावित चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न हाम्रो नेतृत्व ज्ञान, सीप, निष्ठा र व्यावसायिकता पनि उच्चस्तरको हुनुपर्नेमा जोड दिनुभयो। साथै यस्ता चुनौतीको सामना गर्न सक्षम एवम् भावी नेतृत्व तयार गर्न यो कोर्स तयार गरिएकोसमेत उहाँले उल्लेख गर्नुभयो।
भविष्यमा सक्षम र नैतिकवान् प्रहरी नेतृत्वका लागि महत्वपूर्ण यात्राको सुरूवात भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रहसमेत गर्नुभयो। यस पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन गृहमन्त्रालयबाट निरन्तर सहयोग, मार्गनिर्देशन र साधनस्रोत प्राप्त हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले स्वागत मन्तव्य एवम् पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो।
कार्यक्रममा प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, MPS का सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा सञ्चारकर्मीहरूलगायतको उपस्थिति रहेको थियो।