हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 2667  पटक पढिएको

बर्दिबास, कात्तिक २१ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन जारी गरेको सूचना निष्प्रभावी देखिएको छ। मतदान आउन अब दुई साता मात्र बाँकी छ। प्रशासनले हतियार बुझाउन तोकेको समयसीमा सकिएको सात दिन बितिसकेको छ। बुझाउनेको सङ्ख्या भने अत्यन्तै न्यून छ। प्रशासनको सूचनालाई अटेर गरी हतियार नबुझाउँदा सुरक्षा चुनौतीपूर्ण बढेको छ।

मुलुक निर्वाचन मानसिकतामा प्रवेश गरिसकेको छ। दल र उम्मेदवारहरू चुनाव चिह्न लिएर मतदातामाँझ पुगेका छन्। गाउँ बस्तीदेखि दलका सवारीसाधनमा पार्टीका झन्डा र चुनाव चिह्न टाँगन थालिएका छन्। गाउँगाउँमा चुनावी सभा र प्रचारप्रसारले गति लिएको छ तर निर्वाचनमा शान्तिसुरक्षालाई प्रत्यक्ष प्रभाव पार्ने इजाजत प्राप्त हतियार सङ्कलनले भने गति लिन सकेको छैन। हतियार सङ्कलन नहुँदा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन कठिन हुने सुरक्षासम्बद्ध कर्मचारीको भनाइ छ। केही समूहले निर्वाचन विरोधी गतिविधि तीव्र पारेकाले पनि न बुझाइएका हतियार थप जोखिमपूर्ण हुन सक्ने विश्लेषण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले हतियार सङ्कलनमा प्रशासन गम्भीर रहेको बताउनुभयो। बुझाउन अटेर गरेकाले अब घरघरै प्रहरी पठाएर पनि हतियार सङ्कलन गर्नेबारे परामर्श भइरहेको उहाँको भनाइ छ। “निर्वाचनमा हतियारको संवेदनशीलता हामीले बुझेका छौँ” पहाडीले भन्नुभयो “अभिलेखसहित प्रहरी सम्बद्ध व्यक्तिको घरमै पठाएर पनि हतियार जिम्मा लिने तयारीमा जुटेका छौँ।”

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार जिल्लामा साना, ठूला गरी ४०४ थान इजाजत प्राप्त हतियार छन्। प्रशासन कार्यालयमा रहेको हातहतियार अभिलेखअनुसार १२ बोरको एक नाले र दुई नाले गरी ३०३ थान, २२ बोरको एक नाले छ थान, एक नाले भरुवा बन्दुक दुई थान, चार थान पेस्तोल, आठ रिभलवर र हावादारी बन्दुकको सङ्ख्या नौ थान छ। गृह मन्त्रालयको निर्देशनमा यी हतियार बुझाउन जिल्ला प्रशासनले असोज २४ गते नै सार्वजनिक सूचना जारी गरेको थियो। कार्यालयको वेवसाइट र प्रहरी युनिटमार्फत हतियार बुझाउने समयसीमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको थियो। “निर्वाचनका बेला शान्ति सुव्यवस्थामा खलल नपरोस् भनेर हतियार सङ्कलनका लागि सूचना जारी गरिएको हो,” सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “कार्यालयको वेभसाइट र प्रहरीमार्फत पनि तोकिएको समयभित्र हतियार बुझाउन जानकारी गराइएको थियो।”

हतियार सङ्कलनमा देखिएको उदासीनतालाई सुरक्षा निकायले पनि चुनौतीका रूपमा लिएको छ। प्रहरी उपरीक्षक कृष्ण पगेनीकाअनुसार प्रशासनको सूचनालाई अटेर गरी हतियार नबुझाउनु सुरक्षामा एक किसिमको ‘थ«ेट’ हो “तर त्योभन्दा पनि अवैध हतियारको जोखिम बढी हुन्छ”, उहाँले भन्नुभयो, “त्यस्ता हतियार नियन्त्रणमा पनि खोजी र निगरानी बढाएका छौँ।”

अहिलेसम्म धिरापुर, कट्टिकटैया, बर्दिबास, इटहरवाकट्टी, पसौपतेली, जमुनिया, बलवा र रामगोपालपुरस्थित प्रहरी कार्यालयले मात्र हतियार सङ्कलन गरी जिल्ला प्रहरीमा बुझाएका छन्। एक नाले १७ र दुई नाले आठ गरी २५ थान हतियार मात्र सङ्कलन भएको पगेनीले जनाउनुभयो। यो सङ्ख्या कुल हतियार (४०४ थान)को छ प्रतिशत मात्र हो। निर्वाचनका बेला ९४ प्रतिशत लाइसेन्स प्राप्त हतियार सुरक्षा नियन्त्रण बाहिर रहनु भनेको चुनौतीपूर्ण भएको सुरक्षा निकायको भनाइ छ।

प्रहरी उपरीक्षक पगेनीका अनुसार कतिपय इजाजतप्राप्त हतियारवाहक महोत्तरी छाडेर बसाइँ सरी गएका छन्। यस्तो अवस्थामा रेकर्ड महोत्तरीमा भए पनि हतियार बसाइँ सरी गएको जिल्लामा बुभाएको हुन सक्छ। कतिपय हतियार सडेगलेर, खिया लागेर नष्ट भएका हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!