हिपमत डटकम

आइतबार, कार्तिक २०, २०७९ || 757  पटक पढिएको

डडेल्धुरा, कात्तिक २० गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् भङ्ग गर्ने परम्परा अन्त्य भएको बताउनुभएको छ। गृहजिल्ला डडेल्धुरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा भएको व्यवस्थाअनुसार संसद्बाट सरकार गठनको सम्भावना भएसम्म अबदेखि संसद् भङ्ग नहुने बताउनुभएको हो।

अजयमेरु गाउँपालिकास्थित भद्रपुर र भागेश्वर गाउँपालिकास्थित रुपालमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई उहाँले सम्बोधन गर्नेक्रममा सो कुरा बताउनुभएको हो। जिल्लावासीको भव्य स्वागत पाउनुभएका प्रधानमन्त्री देउवाले डडेल्धुराको विकास र राष्ट्रिय राजनीतिका सन्दर्भमा विचार राख्नुभयो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको लहडको भरमा संसद् भङ्ग गर्न मिल्दैन। अलिकति आलोचना भयो भन्दैमा संसद् भङ्ग गर्न पाइँदैन। केपी ओलीलाई प्रधामन्त्रीबाट हटाएर जनताबाट निर्वाचित प्रतिनिधि सभा भङ्ग गर्ने परम्परालाई सत्ता गठबन्धनले हटाएको छ। संसद् भङ्ग गर्ने अधिकार कोही कसैलाई छैन।”

उहाँले सत्ता गठबन्धन चुनावका लागि मात्रै नगरिएको बताउँदै स्थिर सरकार, स्थायी शान्ति र स्थिरताका लागि एकजुट भएको प्रस्ट पार्नुभयो। अहिलेको गठबन्धनलाई लामो समयसम्म निरन्तरता दिने उहाँले बताउनुभयो। उहाँले देश विकास र समुन्नतिका लागि स्थिर सरकार निर्माण गरेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “गठबन्धन जति बलियो भयो त्यति नै बलियो सरकार बन्छ।”

डडेल्धुराको विकास गर्ने प्रतिबद्धता

प्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गर्ने तथा सडकको स्तरोन्नति गर्ने, शिक्षण अस्पताल निर्माण गर्नेसहित यहाँको भौतिक पूर्वाधार विकासका लागि काम गर्ने बताउनुभयो। उहाँले हवाईमैदान निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “विकास गर्नु मेरो कर्तव्य हो। धेरै विकास भएका छन्, अझै विकास गर्छु। डडेल्धुरालाई सम्पन्न जिल्ला बनाउने मेरो लक्ष्य छ। हवाईजहाज ल्याएरै छोडिनेछ। खानेपानीको अभाव रहेका गाउँहरूमा पानी पु¥याएरै छोड्नेछु।” डडेल्धुराको भागेश्वर र महाकालीपारि भारतको पूर्णागिरिसम्म पर्यटकीय मार्ग निर्माण गरी धार्मिक पर्यटनको विकास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले डडेल्धुरावासीबाट पाएको स्नेहप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सडक सञ्जालसँगै विकास पूर्वाधारहरू तीव्रत्तर गतिमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “डडेल्धुरा यति सुन्दर छ। यस जिल्लालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ। डोटेली राजाको दरबार अजयमेरु कोट हेर्न धेरै पर्यटक आउनेछन्, सेवा सुविधा र पूर्वाधार विकास गर्न विशेष ध्यान दिइनेछ।

” कार्यक्रममा प्रदेश सभा (क)का उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्ट र प्रदेश सभा (ख)का उम्मेदवार एवं कांग्रेस नेता गोविन्दराज बोहरासहित सत्ता गठबन्धनका नेताहरूले डडेल्धुरालाई समुन्नत बनाउन प्रधानमन्त्री देउवासहित गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!