
राम्रो काम गरेर देशभर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ ।

२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएका थिए । नगरमा अहिले एमालेबाट मोहन चापागाईं र कांग्रेसबाट रामकृष्ण खाँण उम्मेदवार छन् ।
गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण गत निर्वाचनमा घिमिरेसँग पराजित भएका थिए ।
तिलोत्तमामा एमाले संगठन बलियो छ । तिलोत्तमा रुपन्देही क्षेत्र नम्बर ३ मा पर्छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका सादगी नेता घनश्याम भुसाल निर्वाचित भएका थिए भने पराजित हुने डरले गृहमन्त्री खाँण प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा खुम्चिएका थिए ।
एमाले विगतको बिरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने गृहमन्त्री खाँण आफू प्रतिष्ठाका लागि भए पनि भाइलाई जिताउनुपर्ने गरी लागेका छन् । त्यसैले तिलोत्तमाको निर्वाचन पेचिलो छ ।
नगरमा एमालेले गरेको राम्रो कामलाई निन्तरता दिँदै नगरलाई समुन्नत बनाउन एमालेले चापागाईलाई अगाडि सारेको छ । चापागाईले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संगठनमा रहेर काम गरेका छन् । चापागाईमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता छ । उनी आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् ।
यसअघिको निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा जितेको थियो ।
२०७४ सालको निर्वाचनमा तिलोत्तमामा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २६४ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।
२०७३ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईलाई सञ्चार विज्ञको रूपमा नियुक्त गरेका थिए । खाँण कांग्रेस रुपन्देहीका सभापति हुन् । उम्मेदवार चापागाईले आफू निर्वाचित भए तिलोत्तमाको पहिचानलाई जोगाउँदै अझै विकास गर्दै जाने बताए ।
गत निर्वाचनमा पराजय व्यहोरेका खाँणलाई गृहमन्त्री बालकृष्ण खाँणले अन्तिम समय आएर अगाडि सारेका छन् । तिलोत्तमालाई आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य र उद्देश्य अनुरूप उम्मेदवारी दिएको खाँण बताउँछन् । कृषिका लागि उर्वरभूमि, वन, वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाई नमूना नगर बनाउने योजना अगाडि सारिएको छ ।
आफू निर्वाचित भए सेवासुविधा नलिने घोषणा खाँणले गरेका छन् ।
२०४० सालको सुरजपुरा घटनामा स्व. गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएका उनी घटनालगत्तै घाइतेको उपचार तथा उद्दारमा सक्रियतापूर्वक लागेका थिए । २०४२ सालको सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका उनी भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरूको रिहाइ, खानपान, खबर आदानप्रदानको काममा सक्रिय भए ।
२०४६ सालको जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए ।
कांग्रेस र जनमुक्तिको गठबन्धन हुँदा पनि नगर प्रमुखमा घिमिरे विजयी भएका थिए तर यसअघिको जस्तो परिस्थिति अहिले छैन । माओवादी, कांग्रेसको गठबन्धन बनेको छ । गठबन्धन भनिए पनि अन्तिम समयमा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ ।
समाजवादीले नगर प्रमुखमा आशा चौधरी, उपप्रमुखमा सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ ।