
दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका-१४ कपासे स्थित घोराही-तुलसीपुर सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटना हुँदा ट्याक्टरका मिस्त्री घोराही-१० उत्तर अम्रुई बस्ने २२ वर्षीय सुदन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
उनका अनुसार रा १ त ३३७० नम्बरको ट्याक्टर सडकमा बिग्रिएको थियो। त्यसलाई तान्न अर्को रा १ त ४६११ नम्बरको ट्याक्टर बोलाइएको थियो। त्यसक्रममा सो ट्याक्टर पनि पल्टिएर चौधरी च्यापिएका थिए।
ट्याक्टरमा च्यापेपछि उनी गम्भीर घाइते भए। उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।
कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको छ।