
कानुनी झमेलामा फसेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । पलको विषयले फिल्मलाई असर गर्न सक्ने धेरैको विश्लेषण थियो । विहानी शोसम्म हलमा दर्शकको अभावनै देखियो । तर, दिवा शोबाट हलमा फिल्म हेर्ने दर्शक बढेका छन् । मल्टीप्लेक्सभन्दा सिंगल थिएटरमा दर्शकहरुको उपस्थिति राम्रो रहेको जानकारी प्राप्त छ ।

शुक्रवार विहान अभिनेत्री पूजा शर्मा, निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ दर्शक प्रतिक्रिया बुझ्न बाजालुस्थित अष्टनारायण हलमा पुगेका थिए । पलको तस्विर अंकित टिसर्ट लगाएर पुगेकी पूजालाई दर्शकहरुले हलमा न्यानो स्वागत गर्दै पल शाहको बारेमा चासो व्यक्त गरेका थिए । उनले पल आफ्नो मुटुमा रहेको बताउँदै पलको तर्फबाट दर्शकहरुलाई धन्यवाद दिएकी थिइन् ।
दर्शकसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू पल शाहको पिल्लर रहेको बताइन् । उनले भनिन्, ‘पूजा भनेकै पलको पिल्लर हो । पूजाविना पल अधुरो छ अनि पलविना पूजा अधुरो छ । ऊ आज भौतिक रुपमा मेरोसामु नभए पनि पल मेरो अगाडि उभिएको छ । आफ्नो फिल्मलाई आफ्नो भन्न नपाउँदाको पीडा मैले भोगेको छु । अहिले त्यो पीडा पलले भोगिरहेको छ ।’
पललाई कसैले केही गर्न नसक्ने दाबी गर्दै उनले एक वर्षसम्म पल कसरी बाँचेको थियो भन्ने कुरा आफूलाई थाहा भएको बताएकी छन् । ‘सत्यकै जीत हुन्छ । आज नराम्रो मान्छेहरुले खेदो खनिरहेका होलान् तर एकदिन पल आउँछ । पलको साथमा हामी छौं । बलेको आगो जसले पनि ताप्छ, दुःख पर्दा कोही साथमा हुँदैन । तर, दर्शक साथमा भए कसैले केही गर्न सक्दैन,’ उनले भनिन् ।
त्यस्तै, निर्देशक सुदर्शन थापाले फिल्म क्षेत्रलाई ‘म यस्तो गीत गाउँछु २’ ले पुरानै लयमा फर्काएको दाबी गरे । दर्शकलाई फिल्मको कथावस्तु ताजा लाग्ने बताउँदै उनले भने, ‘दुई वर्ष अगाडि लेखेको कथा अहिलेको घटनाक्रमसँग ९० प्रतिशत मिल्छ । यसले गर्दा दर्शकलाई फिल्म ताजा लाग्छ । यो फिल्मले भविष्य देखेको रहेछ । तर, कथा लेख्दा हामीले अहिलेको भविष्य देखेका थिएनौं ।’
सुपरस्टार गायक र नवोदित गायिकाबीचको प्रेमकथा बुनिएको फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, विशाल पहारी, सोनिका रोकाय, गणेश गिरी लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतले फिल्ममा प्राण भरेको छ । फिल्मलाई सुदर्शन र पूजाले निर्माण गरेका हुन् ।