
कोभिड–१९ को दोस्रो लहरमा विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा अन्तर्गत कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

कोभिड–१९ व्यवस्थापनमा अग्रमोर्चामा रहेर काम गर्ने अधिकांश स्वास्थ्यकर्मीहरू संक्रमित बनेका हुन् । जनस्वास्थ्य महाशाखा अन्तर्गत २ सीएमए, २ वरिष्ठ अनमी, ४ अनमी, १ ल्याब असिस्टेन्ट, १ स्टाफ नर्स , १ नर्सिङ्ग अफिसर र १ पब्लिक हेल्थ अफिसर गरी १२ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमितहरूमध्ये ९ जना विराटनगरका विभिन्न वडाका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिए भने १ जना विराटनगर महानगरपालिकाको कार्यालय र २ जना सीमान्त रानी स्वास्थ्य केन्द्रमा कार्यरत छन् ।
स्वास्थ्यकर्मीहरू अधिक संख्याका सेवाग्राहीहरूको सम्पर्कमा आएको र संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न भएको कारण आफै कोरोनाबाट पीडित बन्न पुगेका थिए । नर्सिङ्ग अफिसर प्रवेशिका गुप्ताले न्यू सृष्टि दैनिकसँग बुधबार कुराकानी गर्दै सेवाग्राहीहरूकोबीचमा रातोदिन अग्रमोर्चामा रहेर काम गर्दा आपूmलाई पनि कोरोना संक्रमण भएको जिकिर गरिन् । रिर्पोट नेगेटिभ आए लगत्तै कार्यक्षेत्रमा फर्किएकी गुप्ता सबैलाई स्वास्थ्य मापदण्डको पालना अनिवार्य कडाईका साथ गरिनुपर्नेमा जोड दिइन् । जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की र कोभिड संयोजक हैदर अलीलाई पहिलो लहरको कोरोना संक्रमणले सताएको थियो ।
विराटनगर नगरक्षेत्रमा कोभिड–१९ को दोस्रो लहरका कारण मंगलबारसम्म १२ हजार ४८९ जनामा कोरोना पुष्टि भइसकेको छ । नगरक्षेत्रमा कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ६५६ रहेको छ । होम आइसोलेसनमा २ हजार उपचाररत रहेका छन् । कोरोना संक्रमणका कारण १६२ विराटनगरवासीले ज्यान गुमाएका छन् । मोरङ जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक भइनसकेको भन्दै निषेधाज्ञालाई जारी राखिएको छ ।
निषेधाज्ञा लागु रहेपनि विराटनगरवासी कोरोना सक्किए जसरी दैनिक क्रियाकलापमा लापरवाही गर्दै क्रियाशील बनेका छन् । जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिए । उनले भने,‘विराटनगरवासी अधिकांश सामाजिक दूरी कायम गर्ने, मास्क र सेनेटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कार्यमा लापरवाह बन्न थालेका छन् । जुन घातक सावित हुन सक्छ । कोरोना अझै सकिएको छैन ।’ उनले कतिपय विराटनगरवासी खोप लगाए भन्दै लापरवाही बन्दै गएको र स्वास्थ्य मापदण्डको पालना नगर्दा खोप लगाएकालाई समेत कोरोना संक्रमण देखिएकोले सर्तक र सजग बस्नु पर्ने अडान कसे ।