खबर ठुलो छ
रिकेश निरौला

हरितालिका तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल तृतियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरू आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरन्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरू दूरा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षाेल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रुपले नेपाल अधिराज्य भर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा समेत मनाइन्छ । यो चाडमा माईति (बुबा–आमा,दाजु–भाइ) छोरीचेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठा–मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुःख साटासाट गरी एउटै ठाँउमा खाने बस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दर खाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, ढकने, मासु, सेलरोटी, फलफूललगायतका खाना खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा समेत परिवर्तन आउँदै गरेको छ । हिन्दू धर्मको ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दासम्म पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् ।

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

हाम्रो समाजमा तीज महिलाहरुद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलिआएको परम्परा हो । बर्षायामको लहरसँगै नागपञ्चमिदेखि हिन्दू नेपालीका मुख्य चाडपर्वको सुरुवाती पर्व हरितालिका तीजले ठूलो महत्व बोकेको छ । यसका विभिन्न धार्मिक, सांस्कृतिक र पारिवारिक महत्वका पाटाहरू लुकेका छन् ।

तर आधुनिकताको नाममा तीजमा देखिएको तडकभडक र तीजका गीतमा देखिएको बिकृतिले यो पवित्र पर्वको गरिमामा धब्बा लगाइ दिएको छ । तीज आउनुभन्दा दुई तीन महिनाअघिदेखि बजारमा आउने उत्ताउला तीज गीतलाई कुनै अर्थमा पनि तीजका गीत मान्न सकिँदैन । आजभोलि तीजको अवसरमा गाइएका गीतहरू रत्यौली हुन् कि झ्याउरे हुन छुट्याउन कठिन भैसकेको छ । प्रशासन भन्छ भड्किलो भयो तीज, महिला अधिकारकर्मि भन्छन् स्वतन्त्रता हनन् गर्न पाइदैन । स्वतन्त्रता छ भन्दैमा आफ्नो मौलिक कला, भाका र संस्कृतिमा विकृति ल्याउने अघिकार पनि कसैलाई छैन । यस्ता ढाेंगी अधिकारकर्मी र समाजसेवाको नाममा विकृति भित्र्याउनेहरूले गर्दा आज नारीहरुको पवित्र पर्व तीज र अहिले आएका आधुनिक तीजको गीतका शब्द सुन्दा र नाँच्ने शैली देख्दा रत्यौली र तीज छुट्ट्याउन गाह्रो भैसक्यो । स्वतन्त्रताको नाममा आफ्नो पवित्र पर्व तीज महिलाहरु आफैले नङ्याउदै छन् । ‘भगवानलाई चढाउन के के पाहुर चाहिन्छ ? बरिलै फूलपाति अक्षता ।’ गायिका हरिदेवी कोइरालाले गाएको यो गीत आमा हजुरआमाको मानस्पटलमा भरिपूर्ण भएको र जिब्रोमै झुन्डिएको गीत हो । यस्ता मिठा शब्दले सजिएका पहिलेका हाम्रो मौलिकता झल्किने गीत अहिलेका युवा पुस्ताले सुन्दैनन् । हामी आफैले हाम्रो आफ्नो मौलिक कला, भाका, लय र संस्कृतिको जगेर्ना गर्नुपर्छ र अब आउदै गरेको युवा पुस्तालाई समर्पणको लागि हस्तान्तरण गर्नु पर्छ । अधिकारकर्मिको नाममा हाम्रो मौलिकता लोप गराउन खोज्ने मान्छेको पछि लाग्नु हुँदैन । अधिकारकर्मिको नाममा हाम्रो समाजमा बिकृति र बिसङ्गति फैलाउछ त्यस्ता समूहले ।

आजभन्दा १५÷१६ वर्ष पहिला चेलीहरु आफ्नो समाजमा भएका घटना, अत्याचार, अन्याय र आफ्ना कष्टहरुलाई गीतमा फुकाउँथे, अहिले निकै उताउलो र भड्किलो बन्दै गइरहेको छ तीज । नारीको चाडपर्व भनिए पनि गीतमा र नाँच्ने शैलिमा रत्यौलीको झल्को देखिन्छ । गीतका शब्द, भाका र लय पनि उस्तै उत्ताउलो, अपाच्य लाग्ने खाल्का दोहोरो अर्थ लाग्ने खालका, भिडियो झन् उस्तै परिवारका सबै सदस्य बसेर हेर्न नमिल्ने खाल्को हुन्छ । यस्तै अवस्था रहिरहने हो भने भोलिका पुस्ताले कसरी तीजको गरिमा र महत्वलाई सम्झला ? हामीले आउँदै गरेको हाम्रा सन्ततीलाई के सिकाउने ?
पहिला तीजको ब्रत बसेको दिन महिलाहरु दिनभर पानीसम्म पनि नखाइ भोकै ब्रत बस्थे, अधिकाम्स महिलाहरू नजिक रहेको शिवमन्दिर, देवालयमा गई भगवान शिवको आराधना गर्थे, स्तुती गाउथे साथै नाँचगान तथा रमाइलो गर्ने गर्थे । तर आजभोलिका नयाँ पुस्ताहरू महिनौं अगाडिदेखि होटल, रेस्टुरेन्ट, बार, पार्टीप्यालेस ओगटेर महिनांै अगाडिदेखि विदेशी ब्रान्डका मदिरा सेवन गर्दै र उत्ताउला खाल्को गीतमा नाचेर तीज मनाउदै आएका छन् ।

पुरुषहरूले तीजका गीत गाउनु हुँदैन भनिएको होइन, पहिलेपहिले पनि गाँउथे तर भाइ, दाइ, बुबा, काका माइतीको भूमिकामा रहेर सभ्य तरिकाले गाँउथे । अहिले माया पिरतीका, डेटिङ्गमा भेट्ने, सहवासमा जाने खालका गीतमा पुरुषहरू मस्किदै नाचेको देखिन्छ । नेपाली लोकगीत संगितमा आएको बिकृति हटाउने भनेर खेलिएका संस्थाका जिम्मेवार व्यक्तिले बजारमा ल्याएको तीज गीतको बारेमा छिरिक्क बोलेको पाइदैन, बरु उल्टै उनीहरु पनि त्यही गीतमा नाचिरहेका हुन्छन । यो विषय केही वर्ष पहिला निकै विवादित बन्यो । बिगतको तीज गीत ढाडे बिरालो जस्तै यो गीत पूरै दुई अर्थ लाग्ने खाल्को छ ।
आधुनिकता र पूँजीवादको नाममा विकृतिले ठाउँ पाउँदै गएको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरन्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन् ।

तीजको गीतमा देखिएको विकृति मेटाउन सबैभन्दा पहिला जसले गीत गाउने हो उसले नै आफू कस्तो गाइरहेको छु भन्ने कुरा बुझ्न जरुरी छ । दसैंको गीत दसैंको जस्तो हुनुपर्छ, तिहारको गीत तिहारको जस्तो हुनुपर्छ भने तीजको गीत जस्तो गाए पनि हुन्छ ? दुर्गेस थापाको गीतमा मस्कि मस्कि नाँच्ने महिला आमा, दिदी, बैनी कतिको चेतनशील छौ र आफ्नो संस्कृति पहिचानलाई कतिको माया गर्छाै भनेर आफै मनन् गर्नुहोस । चलचित्रमा सेन्सर बोर्ड छ तर लोकसंगीतमा सेन्सर बोर्ड छैन । त्यही भएर पनि छाडापनले ठाउँ पाएको हुनसक्छ । यदि त्यस्तो हो भने लोकसंगीतमा पनि सेन्सर बोर्ड राख्नुपर्छ । त्यही भएर पनि छाडापनले ठाउँ पाएको हुनसक्छ । हाम्रो सम्पति भनेको हाम्रो संस्कार हो । तीजको मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ । यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो हुन्छ, विज्ञानमा यदि धर्मलाई नजोड्ने हो भने विज्ञान अन्धो हुन्छ ।
पहिले कुरा त धर्मकर्म स्वच्छाले आफ्नै लागि गर्ने हो । दोस्रो कुरा आफूले आफ्नो रीतिरिवाज अनुसार गर्दा भावी पुस्ताले पनि अंगाल्छन् । त्यसैले आधुनिकताका नाममा संस्कृति छाड्ने काम भने कदापि सहन्य हुँदैन । हो, अहिले कोरोनाको सङ्क्रमण बडिरहेको छ । त्यसैले भनेजसरि, सोचे जसरी गर्न नसकिएला तर पुर्खाैँदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न । यसो भयो भने त केही वर्षभित्र हाम्रा सबै पर्व, चाड समाप्त भएर जानेछन् । यसतर्फ निकै विचार पुर्याउन आवश्यक छ । हरेक जात–जाति,धर्म हरुले आफ्नो आफ्नो पर्व आफ्नो रितिरिवाज अनुसार मनाउनु पर्छ ।

तीज नमनाउने त कुरै भएन तर अघिल्लो वर्ष र यसपटकको तीज भने अलि फरक तरिकाले मनाऊँ । पहिले जुटथ्यौँ भने अब केही समयका लागि फुटौं अलि टाढै बसौं । ज्यान रहे तीज त अर्काेपटक फेरि आइहाल्छ नि । मुख्य कुरा आफ्नो ज्यानको ख्याल राखौं । जुटेर भन्दा पनि फुटेर तीज मनाउँ । कोरोना भाइरसलाई परास्त गरौं । तीज महान पर्व हो भन्नेमा कुनै शंखा दुविधा छैन ।
त्यसैले गर्दा यस्ता परम्पराले हाम्रो जिवनमा निकै उर्जा थपेको छ । सोझै भन्ने हो भने हाम्रा पर्वहरूले हामिसँग मितेरी नै लगाएका छन् । जसबाट हामी अलग हुनै सक्दैनौं । अझ तीज त झन त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ ।
मिठो खाने, राम्रो लगाउने, भेटघाट गराने माहोलसमेत सिर्जना गर्ने भएकाले पनि तीजको महत्व निकै छ । तीजको गीत अर्काे आकर्षण हो । यतिबेला एल्बमहरू निकाल्नेको भीड नै लाग्छ बजारमा भने स्टेज सोहरू पनि उतिकै आयोजना हुन्छन्न । विकृति र बिसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ । तर अब यो पनि अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ । किनकि यसपटक हामी यसरी तीज मनाउने अवस्थामा छैनौँ । गायिका हरिदेवि कोइरालाको भनाइमा तीजका गीत भनेको पर्व, भाका, शैली र संस्कृतिसँग जोडिएको हुनुपर्छ र सर्जकहरूले पनि यस्लाई निकै ख्याल गर्न आवश्यक छ । तीजलाई तीज जस्तो सभ्य बनाउनु पर्याे ।
तीजमा चेलीले माईतीको बाटो हेरिरहेकी हुन्छिन् । आफ्नो जन्मदिने बुबा–आमा,दाजु–भाइको बाटो हेरिरहेकि हुन्छे । बाबु–आमा, दाजु–भाइ छैनन् भने काका काकी वा अन्य कुनै दाजु–भाइ लिन आउँछ कि भनेर बाटो हेरिरहेकि हुन्छे । यसको मतलब उनीहरू भेटभएपछि चेली र माइतीबीचको सम्बन्ध र सुखदुःख साटासाट नि हुन्छ । अरुकुरा त हुँदैनन् । यति ठूलो पारिवारिक आयाम जोडिएको छ । माया प्रेम नै सब थोक हो भन्ने सोचबाट हामी सबै अलग हुनुपर्छ । पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ । पछिल्लो पुस्तालाई निराशा मुलक गित भन्दा पनि कही आशा जगाउने खालका गीतहरू दिनुपर्छ ।

अहिले नेपालमा बस्नेहरुले भन्दा पनि विदेशमा बस्ने नेपालीहरुमा तीजको मोह निकै बढी देखिन थालेको छ । महिनौं अगाडिदेखि कलाकार बोलाएर तीज मनाउन थालेका छन् । कलाकारहरुलाई पनि राम्रै फाइदा पुगे पनि संस्कृति र मौलिकता जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हो । स्वदेशभित्रै पनि विभिन्न संघसंस्था र कार्यालयहरुले समेत आफ्ना कार्मचारीलाई दर खुवाउने गर्छन्, गाँउदेखि शहरसम्मका चेलीहरु जम्मा भएर रमाइलो गर्नु निकै सकरात्मक पक्ष हो तर यसले चाडपर्वको गरिमालाई लत्याउनु भएन ।
सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुको पवित्र तथा महान पर्व तीज बिकृतिमा परिणत भयो । घरमा परिवार आमा, दिदी, बहिनीहरुको सामु बसिरहेका बेला टिभिमा कुनै तीज गीत बज्यो भने आफू बसिरहेको ठाँउ छोडेर हिड्नुपर्ने अवस्था समेत कतिपटक भोग्नु परेको छ । यस्तो अवस्था आउनुमा नारीहरूकै ठूलो हात छ र यस्ता बिकृति बिसङ्गति हामी सबै मिलेर अन्त्य गर्नुपर्छ । भोलिका दिनमा यस्तो अवस्था नदोहोरियोस् । आउँदै गरेको नारीहरूको महान पवित्र पर्व हरितालिका तीजको सम्पूर्ण महिलाहरूलाई हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया