शुक्रबार, साउन ०८, २०७८ || 863  पटक पढिएको

आजकाल विषाधी परीक्षणको विषय ओझेलमा परेको छ । नोपालीको भान्सामा दैनिकरूपमा प्रयोग हुने तरकारी तथा फलफूलको बिषाधी परीक्षण हुन छाडेको निकै समय भयो । एकताका बिषाधी परीक्षणको विषय निकै सशक्तरूपमा उठेको थियो । त्यतिबेला नियामक निकाय पनि निकै नै सक्रिय भएर बजार अनुगमन कार्यमा लागेको थियो ।

उपभोक्ताहरू पनि निकै सचेत भएकोजस्तो देखिन्थ्यो । तर यो प्रक्रिया एकाएक सेलाएर गयो । तसर्थ, यसले निरन्तरता पाउन सकेन । आखिर बजार जस्ताको त्यस्तै बिषाक्त खरिदबिक्रीको अवस्थामा आयो । अहिले भइरहेको परीक्षण सामान्य किसिमको हो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर तरकारी तथा फलफूलको बिषाधी परीक्षण भएको छैन ।
चारैतिरबाट कुरा उठेपछि संघीय सरकारले बिषाधी परीक्षण गर्ने भनेर निकै तामझामका साथ होहल्ला नगरेको होइन । सरकारको त्यो तामझाम र होहल्ला क्षणिकरूपमा मात्रै सिमित हुन पुग्यो । यसखाले क्रियाकलाप बेलाबेलामा हुने गरेको छन् । तर ती सबै नाटकमात्र हुन् भन्ने आम उपभोक्ताहरूको मनमा छाप बसिसकेको छ । केवल क्षणिक लोकप्रियता प्राप्त गर्नका लागिमात्र प्रसारपसार गरेर जनताको आँखामा छारो हाल्ने काम गरिन्छ । यसो हुनुमा बिचौलिया वर्ग र माफियातन्त्रको ठूलो भूमिका रहेको छ ।

त्यतिमात्र नभएर सरकारको ढुलमुले कृषि नीतिका कारण पनि समस्या उत्पन्न भएको हो । नेपालमा उत्पादित तरकारीले मात्र यहाँको माग धान्न सक्ने अवस्था छैन । त्यसैले भारतको भर पर्नुपर्ने हुन्छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४० देखि ५० प्रतिशतमात्र तरकारी उत्पादन हुने गरेको छ । यसले यहाँको मागलाई थेग्न नसकेको कारण भारतबाट तरकारी आयात गर्ने गरिन्छ ।

यसरी भारतबाट आयातित तरकारीमा नेपालमा उत्पादित तरकारीमा भन्दा बढी बिषाधीको प्रयोग भएको यसअघिका परीक्षणबाट पुष्टि भएको थियो । यो परीक्षण अति आधुनिक प्रयोगशाला परीक्षणबाट पत्ता लागेको थियो । जसका कारण भारतबाट आयातित तरकारीको आपूर्ति बन्द भई यहाँको तरकारी बजारमा आउँदा यसको मूल्यमा एकाएक दोब्बरतेब्बर भाउ वृद्धि भयो । यही भाउ वृद्धि भएको बहानामा सरकारले तरकारीको आधुनिक परीक्षण प्रयोगशाला बन्द ग¥यो । यसको हुुनुमा माफियानतन्त्र र बिचौलियाहरूको दबाव थेग्न नसक्नु हो भनेर भन्ने गरिन्छ । तरकारीसँगसँगै आयातित फलफूलको आधुनिक प्रयोगशाला परीक्षण पनि बन्द हुन पुग्यो ।

यसो हुनुमा सरकार सबैभन्दा बढी दोषी सावित भएको छ । स्थानीय उत्पादन नबढाउने अनि विदेशी उत्पादनलाई प्रश्रय दिने हेतुले आधुनिक परीक्षण प्रयोगशाला बन्द गरिएको हो भनेर ठोकुवा गर्न सकिन्छ । यसबाट मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मले राम्रै लाभ प्राप्त गरेको हुनु पर्दछ । किनकि भारतीय तरकारी अधिक बिषाधीयुक्त भएपनि कम मूल्यमा पाइने भएकोले उपभोक्ताहरू बढी आकर्षित हुने गरेका छन् । यसबाट बिचौलिया र माफियातन्त्र भने सन्तुष्ट नै छन् । किनकि उनीहरूले राम्रै कमिसन रकम आर्जन गर्न सकेको छ ।

प्रदेश १ सरकारले पनि विराटनगर र काँकभिट्टामा आधुनिक परीक्षण प्रयोगशाला सञ्चालन गर्ने भनेर निकै ठूलो तामझाम गरूँला झै त ग¥यो । उसको त्यो कार्य पनि हात्ती आयो हात्ती आयो फुस्सा भने झै भएको छ । यस कार्यलाई प्रदेश सरकारले अब अघि बढाउने कि नबढाउने भनेर आमउपभोक्ता माझ प्रस्ट पार्नुपर्ने हुन्छ ।

यो सम्पादकीय आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!