
कोरोना महामारीमा सर्वाधिक पीडित छन् उपभोक्ता र, यो क्षेत्रमा काम गर्ने वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेल भने ठूलै काम गरेको भन्दै प्रगतिविवरण फलाक्दै हिडेका छन् । आम उपभोक्ता आज लज्जित छन् । चाहे दैनिक उपभोग्य वस्तुको खरिद, गुणस्तरको कुरा होस् या अत्यावश्यक औषधिको कुरा होस् । पोखरेलले माखो मारेका छैनन् भन्दा पनि हुन्छ ।

उपभोक्ता हितको पक्षमा उनले सार्थक काम के गरे त ?
मोरङका सरकारी अड्डामध्ये असफल कार्यालय प्रमुखका रुपमा उनलाई लिन सकिन्छ । भलै उनी निमित्त हुन तर, उनले निमित्त नायकको भूमिका समेत अदा गर्न सकेका छैनन् । बजारलाई उनले छाडा छाडेका छन् । र, बजारमा चरम लापरवाही देखिएको छ । र, पनि उनी धेरै काम गरेको फेहरिस्त प्रस्तुत गर्दै लोकलाई हसाउँछन् । अनुगमनका नाममा भत्ता हजम गर्ने कार्य भएको समाचार त सार्वजनिक नै भइसकेको छ ।
मिसावटमा उनले के गरेका छन् ? कालोबजारीबारे उनी किन मौन छन् ? घटिया दाल बरामद हुन्छ र, नष्ट होइन आयातकर्तालाई फर्काउन उनी सफल हुन्छन् । र, पनि धेरै राम्रो काम गरेको प्रचार गराउन खोज्छन् ।
हिमालय बरालले धेरै गरेका थिए । कम्तिमा उनी हरेक पसलमा पुगेर, अनुगमन गरेर तर्साउने काम त गरे । सातो त लिए । एकप्रकारकार डर र त्रास पैदा गराएका थिए । तर, पोखरेललाई हेरेर आज तिनै डराउनेहरू किन मुसुक्क मुस्कुराउँछन् ? इसार काफी छ ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।