
जनकपुरधाम । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रदेश २ का दुई जना स्रष्टालाई सम्मान गरेका छन् । उनीहरु नेपाल संगीत तथा नाट्य राष्ट्रीय प्रज्ञा पुरस्कार २०७७ बाट सम्मानित भएका हुन् ।

प्रतिष्ठानद्वारा अइतवार जनकपुरमा आयोजित समर्पण समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वरिष्ठ रंगकर्मी सुनिल मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेका छन् ।
मिश्र र मण्डललाई एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट सम्मान गरिएको हो । सोही अवसरमा मैथिली रंगमंच प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगद सहित सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरुलाई सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत दिएका छन् ।
प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्शिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा देशभरि पुरस्कृत भएका ६ जना श्रष्टा मध्ये मिश्र र मण्डल प्रदेश २ का बासिन्दा हुन ।