हिपमत डटकम

मंगलबार, आषाढ १५, २०७८ || 902  पटक पढिएको

हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ ।

वर्षात्का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कंदै गर्दा डाँठ कुहिएर फल नै झर्न थालेपछि उत्पादनमा समेत गिरावाट आउने भन्दै कृषकहरु थप चिन्तित बनेका छन् ।
जिल्लामा अहिले ११५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा किबी खेती गरिंदै आएको छ । वार्षिक रुपमा ८० मेट्रिक टन किबी उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । सोलु दूधकुण्ड नगरपालिका–४ का सोनाम शेर्पाले एक हेक्टर क्षेत्रफलमा किबी खेती गदै आएका छन् । वर्षातका कारण फल झर्नका साथै बोटसमेत मर्न थालेको उनले बताए ।

 

किबी फलको बजार समेत राम्रो भए पनि अहिले देखा परेको समस्या कृषकका लागि चुनौती बनेको छ । अहिले नै ५० प्रतिशतभन्दा धेरै फल झरेको नेचा सल्यान गाउँपालिका–३ का साङगे लामा राईको भनाइ छ । जिल्लामा उत्पादन भएको ४० मेट्रिक टन किबी जिल्ला बाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । प्रतिकेजी रु। २०० देखि रु ८०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् ।

 

एकपटक लगाएको बिरुवाले २० वर्षसम्म उत्पादन दिने विज्ञको सुझाव पछि सोही खेतीमा लागेका अर्का कृषक खिन्जु शेर्पा यसपटकको समस्याका कारण निराश बनेका छन् । “यस वर्ष उत्पादनमा धेरै गिरावट आउने हाम्रो अनुमान छ”, शेर्पाले भने, “कृषिमा आत्मनिर्भर बन्न खोजे पनि रोगले गर्दा सबै मन मरेर आउने रहेछ ।”

 

अहिले जिल्लामा ग्रिन, रेड, ब्रुनो, हे–वार्डलगायत जातका किबीहरु उत्पादन भइरहेको छ । किबीलाई रोगबाट बचाउन माटोको डिस्का उठाई बिरुवा रोप्ने व्यवस्था मिलाउने, बिरुवा रोप्दा वा गोडमेल गर्दा जरा तथा काण्डमा चोटपटक लाग्नबाट बचाउनेलगायतका उपाय अबलम्बन गर्नुपर्ने पूर्व बागवानी अधिकृत एवं किबीविज्ञ चन्द्रमान श्रेष्ठको सुझाव छ ।

किबी खेतीका लागी सिँचाइ आवश्यक पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने भन्दै कुनै पनि बोटविरुवालाई खाना आवश्यक पर्ने भएकाले त्यसको कमी भएमा फल झर्ने भएको भन्दै कृषि विज्ञ चन्द्रमान श्रेष्ठले औषधिको प्रयोग गर्नु सुझाव दिए ।

 

पूर्व बागवानी विकास अधिकृतको रुपमा लामो समय जिल्लाको फाप्लुमा काम गरेका किबीविज्ञ श्रेष्ठले यहाँको भूगोलअनुसार खेतीको उत्तिकै सम्भावना भएकाले आवश्यक प्राविधिक कुरामा ध्यान दिएर अगाडि बढेको खण्डमा सफल हुने बताउँछन् । अन्य खेतीको तुलनामा बजारमा किबीको माग समेत राम्रो भएको उनको भनाइ छ । अहिले जिल्लाबाट रु ८० लाख बराबरको किबी जिल्ला बाहिर निर्यात हुने गरेकाको गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय किबीमा विभिन्न रोग देखा पर्दा चुनौती थपिएको जानकारहरु बताउँछन् ।

 

जिल्लाको सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, महाकुलुङ, नेचा सल्यान र माप्य दुधकोशी गाउँपालिकाको विभिन्न क्षेत्रमा किबी खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किबी ‘बल्क’ कार्यक्रम सञ्चालन गरेको छ । यसबाट विरुवा, थाँक्रालगायतमा अनुदान पाएपछि कृषकलाई राहत मिलेको थुलुङ दूधकोशी–९ का सम्पुरे तामाङको भनाइ छ । news source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!