
रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रको करिब ४ किलोमिटर क्षेत्रमा बृहत वृक्षारोपण अभियान थालिएको छ । वन तथा भु–संरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारीमा सो वृक्षारोपण थालिएको हो ।

सोमवार एक कार्यक्रमबीच मेयर दिलिप वगडियाले वृक्ष रोपण गर्दै बृहत वृक्षारोपण अभियानको शुरुवात गर्नु भयो । अभियान अन्र्तगत नेपाल– भारत सिमानाको प्रवेश क्षेत्र चोप्राह देखी निचामारी बक्राह पुल सम्म करिव ४ किलोमिटरमा वृक्षारोपण गरिने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर वगडीयाले रंगेली बजारको सौन्दर्यीकरणको साथै स्वच्छ वातावारणको लागि हरित नगर अभियान अन्तर्गत सो वृक्षारोपण थालिएको बताउनु भयो । उहाँले बोटविरुवाले अक्सीजन दिने हुँदा नगरबासीको स्वास्थ्य समेत राम्रो हुने भएकोले नगरपालिकाले वन संगको साझेदारीमा प्राथमिकताका साथ बृहत वृक्षारोपण अभियान अघि सारेको बताउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार अग्रवालले सडकको दायाँ बायाँ दुवै तर्फ बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवा रोपीने योजना रहेको हिपमत डटकमलाई जानकारी दिए ।
रंगेली नगरपालिकाको ३० प्रतिशत लगानी सहित करिव ५९ लाख ८९ हजार ३ सय २५ रुपैयाको लगानीमा करिव १ हजार ६ सय विरुवा र फलामे तारजाली घेरावेरा सहित व्यवस्थित वृक्षारोपण हुने समितिका उपाध्यक्ष शिशुपाल यादवले बताए । उनले बोटविरुवाको गोडमेल सहित निगरानीका लागी जनशक्ति समेतको व्यवस्थापन गरि विरुवा हुर्काउने योजना रहेको बताए ।
सडकको दुबै तर्फ ५ मिटरको दुरीमा मेन्गो स्ट्रीप, गुलमोहर, निम, औला, कपुर, ज्याक्यारेन्डा लगायतको विरुवा रोपिने उपभोक्ता समितिले जनाएको छ ।