
मोरङ । मोरङ रतुवामाई नगरपालिका वडा नं. १० बाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थित पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।
प्रहरीले खोज तलास गर्दा उनीहरुबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ बरामद भएको छ ।
बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।
उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएका छन् ।