
देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाँउपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाँउपालिकाको वडा नं १ र ६ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख कविराज जिवछ पजियारले जानकारी दिनुभयो । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पजियारले बताउनुभयो । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम गाँउपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पजयिारले बताउनुभयो ।
आयुर्वेद औषधालयका प्रमुख कबिराज पजियार , देवानगञ्जका स्वास्थ्य शाखा प्रमुख उमेश मेहता र कोबिड -१९ फोकल पर्सन राम खेलौन मेहता सहितको टोलीले होम आइसोलेशनमा रहेकाहरुको हौसला बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हो । टोलीले सङ्क्रमितहरुलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै सम्पर्क गर्न आग्रह गरिएको पजियारले बताउनुभयो । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गर्दा उनीहरुमा रोगलाई जित्ने आत्मबल बढ्ने पजयिारको भनाइ थियो ।
यसअघि पनि सङ्क्रमितहरुको घरमै गएर उनीहरुको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको उहाँको भनाइ छ । देवानगञ्ज गा पा–१ मा २० ,२ मा ३५ ,३ मा १८ ,४ मा १० ,५ मा १७ , ६ मा ७१ र ७ मा १५ गरी देवानगञ्ज पालिकामा १८४ कोरोना सङ्क्रमित छन् । पछिल्लो चौबीस घण्टामा देवागञ्ज पालकिामा ४८ जनाले कोरोना जितेका छन् ।