
रौतहट । कोरोना संक्रमणको कारण ज्यान गुमाएकी आफ्नी संचारकर्मी श्रीमतीको सम्झनामा श्रीमानले पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।

गत बैशाख २८ गते कोरोना संक्रमणको कारण ज्यान गुमाउनुभएकी जयरामा मिडिया प्रा.लि.का सञ्चालक रामा यादवको सम्झनामा उनका श्रीमान जयप्रकाश यादवले पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् । जयप्रकाश पनि रौतहट सक्रिय पत्रकारितामा रहेका छन् ।
‘रामा यादव स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ नाम दिइएको पुरस्कारको राशी २६ हजार १ रुपैयाँ रहेको र सो पुरस्कार देशभरिबाट स्वास्थ्य क्षेत्रमा सक्रियताको साथमा कलम चलाउने एकजना संचारकर्मीलाई प्रत्येक वर्ष वैशमख २८ गते प्रदान गरिने यादवले बताए । उनका अनुसार आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको वेथिति, विसंगती तथा सेवा सुविधाको बारेमा समाचार लेखेर सचेत गराउने एवम् समाचारको माध्यमद्धारा जनतालाई स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्ने संचारकर्मी सो पुरस्कारको हकदार हुनेछन् । ‘
यो पुरस्कार संचारकर्मीलाई स्वास्थ्यको क्षेत्रमा पनि प्रभावकारी रुपमा कलम चलाउन प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छुँ’ यादवले भने, ‘कोरोनाको कारण गुमाउनु परेकी श्रीमतीको पीडालाई शक्तिमा बदल्दै उनको सपना पुरा गर्न म लागि रहन्छुँ ।
स्वर्गीय यादवद्धारा सञ्चालित जयरामा मिडिया प्रा.लि. रौतहट अन्तगर्त रेड टेलिभिजन, रेडखबर डट कम अनलाइन पत्रिका सञ्चालन भइरहेको छ भने रेडपोष्ट दैनिक पत्रिका दर्ता भईसकेको र रेड एफ.एम.दर्ताको क्रममा रहेको छ । यादव दम्पतिको ४ छोरीहरु रहेका छन् ।
रौतहटमा कोरोना संक्रमणको कारण दुइजना संचारकर्मीले ज्यान गुमाइसकेका छन् ।