
प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सरकारको पक्षबाट आइतबार बहस गर्न आएका थिए, महान्यायाधिवक्ता रमेश बडाल । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सो इजलासमा बस्न नहुने भन्दै रिट निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जवाफ दिन लयर्स पोडियममा उभिएका महान्यायाधिवक्ता बडालले कानुन व्यवसायीलाई धम्क्याए ।

‘म महान्यायाधिवक्ता मात्रै होइन, बार काउन्सिलको अध्यक्ष पनि हुँ’ बडालले भने, ‘कानुन व्यवसायी अनुशासनमा बस्नुपर्छ, अन्यथा कारवाही हुने कुरा सम्झाउन चाहन्छु ।’
बरिष्ठ अधिवक्ताहरूलाई संकेत गर्दै बडालले अनुशासनको डण्डा चलाउने धम्की दिएपछि न्यायाधीशले उनलाई सम्झाए । बडाललाई रोक्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराईले भने, ‘विषयवस्तुबाट बाहिर नजानुस्, कारवाहीको कुरा अहिले नगर्नुस् ।’
बडालले संवैधानिक इजलासका दुईजना न्यायाधीशले बेञ्च छाड्न नहुने बताउँदै भने, ‘श्रीमानहरूले बेञ्च छाड्ने हो भने सर्वोच्चमा भएका २० जनाभन्दा बाहेकका न्यायाधीश आएपछि मात्रै सुनुवाई हुनेगरी यो मुद्दा पेन्डिङमा राख्नुपर्ने अवस्था आउँछ ।’