
मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकस्थित सडकमा को.२ त ९८५८ नम्बरको ट्याक्टरले को.३२ प ३७६९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ केरौन बस्ने ३२ वर्षीय दिलिप चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी धनुषा जिल्लाको नगराईन नगरपालिका- ५ गंगोलीस्थित सडकमा ज.१ ह ४८४१ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ईतलेस मंडलको छोरा २ वर्षीय सुमित मंडलको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।