
विराटनगर–७ स्थित प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको अगाडि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको पुत्ला उँधोमुन्टो पारेर पिपलको बोटमा झुण्ड्याएका छन् ।

असंवैधानिक ढंगले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको कदमको विरोधमा विद्यार्थीले शनिबार विराटनगरमा दुबै जनाको फोटो अंकित पुत्ला उँधोमुन्टो पारेर झुण्ड्याइएको हो ।
अखिल क्रान्तिकारी मोरङ जिल्ला ईन्चार्ज ताजिम अन्सारी र जिल्ला अध्यक्ष टेकेन क्षेत्री लगायतको नेतृत्वमा विरोधस्वरुप उक्त कार्यक्रम गरेको सो संगठनले जनाएको छ ।
शनिबार नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधव–खनाल पक्षीय विद्यार्थी संगठनले संसद विघटन विरुद्ध आन्दोलित हुने निर्णय गरेका थिए । सोही निर्णय अनुसार कार्यक्रम गरिएको विद्यार्थी नेता अन्सारीले बताए ।

माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संग गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आजै संयूक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।