हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 455  पटक पढिएको

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किदैछन् । उनको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन सकेन । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ छ ।

दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल र ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, सँस्कृति, शिक्षा र क्षमता अभिवृद्धि लगायतका सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल गरेका छन् । तर कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा चर्चा नै भएन ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा भारतले नेपालमा चुनाव चाहेको सन्देश दिएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँ गरेका विभिन्न उच्चस्तरीय भेटघाट तथा बैठकहरुमा नेपालमा देखिएको राजनीतिक संक्रमणको बारेमा चर्चा गर्दा भारतले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पक्षमा रहेको स्पष्ट पारेको स्रोतहरुले दावी गरेका छन् ।

स्रोतका अनुसार ओली नेतृत्वको सरकारले जे निर्णय गरेको छ, त्यसको पक्षमा रहेको सन्देश भारतले मन्त्री ज्ञवालीलाई दिएको छ । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । भारतले पनि संसद विघटनका बारेमा सर्वोच्च अदालतबाटै उचित फैसला हुने भन्दै तत्कालका लागि निर्वाचनमा जाने एजेण्डाकै समर्थन जनाएको स्रोत बताउँछ ।
मन्त्री ज्ञवालीको भ्रमणले नेपाल–भारतको बीचमा रहेको तनाव केही कम भएको छ र वार्ताका ढोकाहरु खुलेको विश्लेषण पनि भइरहेको छ ।

नेपाल–भारत सम्बन्धको बारेमा जानकार एसडी मुनीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा कुनै विषयमा सम्झौता नभए पनि दुई देशको बीचमा रहेको तनावलाई कम गर्न भूमिका खेलेको बताए । यसअघि भारतको तर्फबाट भएको उच्चस्तरीय नेपाल भ्रमण र अहिले मन्त्री ज्ञवालीको भारत भ्रमणले दुई देशको बीचमा रहेको केही असमझदारीलाई कम गर्ने देखिएको बताउँदै उनले भारतको संस्थापन पक्ष नेपाल सरकारको पक्षमा रहेको कुरा प्रष्ट भएको जिकिर गरे ।

‘भारतले नेपालमा चुनाव चाहेको कुराको सन्देश पनि दिएको छ,’ उनले भने, ‘मन्त्री ज्ञवालीले भारत भ्रमण गर्नुभएको छ, त्यो भ्रमणले एउटा सन्देश स्पष्ट भएको छ कि भारतले नेपालमा चुनाव चाहेको छ ।’
नेपालमा देखिएको अहिलेको राजनीतिक संक्रमणमा भारतको कुनै हात छैन र रहनु पनि हुँदैन भन्दै राजनीतिक विश्लेषक मुनीले नेपाल सरकारले जे निर्णय गरेको छ, त्यसमा भारतको समर्थन रहेको बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा संसद भंग भएपछि नेपालमा राजनीतिक संक्रमण बढेको छ । यहाँका राजनीतिक दल, नागरिक समाज आन्दोलनमा छन् । देश आन्दोलनमय भएको छ । तर संसद विघटनको विषयमा कुनै पनि देशले आफ्नो औपचारिक प्रतिकृया जनाएका छैनन् । औपचारिक प्रतिकृया नदेखाए पनि भारत–चीनले आ–आफ्ना प्रतिक्रिया सांकेतिक रुपमा देखाइसकेका छन् ।

संसद विघटन गलत हो भन्ने संकेत चीनले दिएको छ भने भारतले संसद विघटनको पक्षमा सांकेतिक समर्थन जनाएको छ । ससद विघटनलगत्तै चीनबाट नेपालको उच्चस्तरीय भ्रमण भएको थियो । यहाँका नेताहरुलाई भेटेर चिनियाँ प्रतिनिधिले आफ्नो धारणा स्पष्ट पारिसकेका छन् । तर संसद विघटन हुनु अघि नै भारतबाट नेपालको उच्चस्तरीय भ्रमण भएको थियो । त्यो भ्रमणका कारण नै देशमा यो सब भएको हो भन्नेहरुको कमी छैन । तर भारतले नेपालको आन्तरिक मामिलामा आफ्नो कुनै प्रकारको हस्तक्षेप नहुने बताउँदै आएको छ ।

भारतको रक्षा मन्त्रालयमातहतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान ‘आइडिएसए’मा अनुसन्धानरत डा. निहार नायकले पनि नेपालमा अहिले देखिएको राजनीतिक संक्रमण उसको आन्तरिक मामला भएको बताए । त्यसमा भारतले कुनै हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । ‘मलाई लाग्छ, भारतले कुनै हस्तक्षेप पनि गरेको छैन,’ उनले भने, ‘नेपाल सरकारले अहिले गरेको निर्णयलाई भारतले स्वागत नै गरेको देखिन्छ ।’
संसद विघटनपछि नेपाल सरकारले चुनावको मिति घोषणा गरेको र भारतलाई सायद त्यसमा कुनै आपत्ति नरहेको बताउँदै उनले भारतले पनि नेपालमा चुनाव चाहेको प्रस्ट पारे । भारतले नेपालमा भइरहेको राजनीतिक चलखेलमा कुनै चासो नदेखाए पनि नेपाल सरकारले गरेको निर्णयको साथमा रहेको संकेत गरेको उनको विश्लेषण छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण नियमित भ्रमण रहेको बताउँदै उनले दुई देशको बीचमा भइरहेको सहयोग आदान–प्रदानको बारेमा छलफल भएको जनाए । ‘अगामी दिनमा पनि यस्ता छलफललाई निरन्तरता दिने कुरा भएको छ,’ उनले भने, ‘सबभन्दा ठुलो कुरा, दुई देशको बीचमा रहेको तिक्तता मेटाउने काम पनि यसले गरेको छ ।’ सीमा विवाद लगायतका विषयमा कुनै ठोस कुराकानी नभए पनि आगामी दिनमा वार्ताका लागि बाटो खुलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!