
मोरङको सुनवर्षि–७ बरडंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका नेता तेजु ऋषिदेव र कैलु ऋषिदेवको नेतृत्वमा २४ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले जानकारी दिए । उनीहरुलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण गन्गाई सिंह, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायतले अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लिम्बूले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । नेकपा नेतृत्व दुई तिहाईको सरकारले जनताको पक्षमा भन्दा नेता र कार्यकर्ताको पक्षमा काम गरेको आरोप लगाए । उनले भने, “यो देशमा कांग्रेसको आवश्यकता छ भन्ने पुष्टि भएको छ । नेकपाको सरकारले तीन वर्षमा तीन वटा पनि राम्रो काम गरेन ।”
त्यस्तै सचिव नागेश कोइरालाले मजदुर, किसान, उत्पीडित वर्गको हक हितमा कांग्रेसले मात्रै काम गर्ने दाबी गरे । कोइरालाले नेकपा सरकारले आफ्ना नेता र कार्यकर्ता पोस्ने काम मात्रै गरेको बताए । देशभर नै कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको उनको भनाइ थियो । “वर्तमान सरकार बनेदेखि मुलुकमा भ्रष्टाचार, बलात्कार, महँगी, विकृति बढेको छ,” उनले भने, “जनताले दुई तिहाई मत दिँदा पनि कम्युनिष्ट सरकारले केही काम गर्न सकेन ।”
पार्टी प्रवेश कार्यक्रममा सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास ,नेपाली काग्रेस सुनवर्षी नगरपालिकाका संयोजक कमलकिशोर सिंह ,पुर्व जिल्ला सदस्य टेक बहादुर बिष्ट लगायतको नेताहरुको उपस्थिती रहेको थियो