
लागुऔषध ‘ब्राउन सुगर’ कारोबारीविरुद्ध उदयपुर प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको छ । अप्रेशनको नाम दिइएको छ– ‘ब्राभो पापा ।’ खैरो हिरोइनविरुद्धको अप्रेशन शुरु भएसँगै प्रहरीले ९ जना ब्राउन सुगर कारोबारीलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरेर कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको थियो ।

मंसिर २४ मा पक्राउ गरिएका त्रियुगा नगरपालिका घर भएका भिमकुमार चौधरीलाई अनुसन्धान गर्दै जाँदा थप ८ जना पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) बेदप्रसाद गौतमले बताए ।
ईनारचोकबाट पक्राउ गरिएका भिमको साथबाट प्रहरीले ५ ग्राम २५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ‘भिमको लिंकबाट अनुसन्धान गर्दा थप ८ जना पक्राउ परेका हुन्’ डिएसपी गौतमले भने–‘पक्राउ गरिएका सवैजना उदयपुरका स्थानीय डिलर सञ्चालक हुन् ।’
भिमको बयानका आधामार प्रहरीले मंसिर ३० मा रेवत कुमार खाती, रोहितकुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगरलाई पक्रेको थियो । आईतबार त्रियुगा–११ मेनचोकबाट सुमन बस्नेत उर्फ जोनसेना र पार्वती मगरलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीको डेराबाट २० दशमलव ३४ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । मगरको कोठाबाट ईन्सास राईफलमा लाग्ने गोली पनि बरामद गरिएको छ ।
जोनसेना र पार्वतीको लिंकबाट त्रियुगा नगरपालिका–१३ बरुवा खोलाबाट प्रहरीले ३२ बर्षिय नसिब राईलाई पक्रियो । नसिवको साथबाट १६ दशमलव ३७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । अप्रेशनमा खटिएको प्रहरी टोलीले लागुऔषध जोख्ने मेशिन पनि बरामद गरेको छ । पक्राउ गरिएका अधिकांश आफैं ब्राउन सुगरका सेवनकर्ता समेत हुन् । भिमकुमार चौधरी र पार्वती मगरचाहिँ सेवनकर्ता होइनन् । पक्राउ पर्नेहरु ब्राउन सुगरका स्थानीय डिलर सञ्चालक हुन् । उनीहरुले भारतबाट ल्याएर उदयपुरमा कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।