
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनपछि देश अँध्यारो सुरूङमा फसेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन भइ मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ ।

राष्ट्रपति भण्डारीले ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन् । सोमबार विहान ट्वीट गर्दै पूर्व पधानमन्त्री समेत रहेका भट्टराईले बैशाखमा चुनाव पनि नहुने ठोकुवा गरे ।
उनले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन। देश अँध्यारो सुरूंगमा फसिस्क्यो।’ संवैधानिक र कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न सकिन्ने भट्टराईको भनाइ छ ।
त्यसको दिगो उपचार राजनीतिक नै भएको भन्दै संगठित/ एकिकृत र सशक्त जनप्रतिरोधको आवश्यकता उनले औल्याए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी(जसपा) ले संसद विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020
हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको जस्तै जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गरी प्रतिनिधिसभाको बैठक राख्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री, राष्ट्रपति र प्रधानन्यायाधीशको मिलेमतोमा संसद विघटन गरिए पनि संविधानको धारा १०३ ले ‘सार्वभौम संसद’ विघटन हुन नसक्ने व्यवस्थाको परिकल्पनाबारे सभामुख अग्निप्रसाद सापकोटा छलफलमा गरेका थिए ।
आइतबार दिनभरजसो आफ्नो भावी कदमका विषयमा विज्ञहरूसँग छलफलमा गरेका सापकोटाबाट यस विषयमा सार्वजनिक अभिव्यक्ति भने आएको छैन ।