
गुल्मीको रेसुङ्गा नगरपालिका-१३ दुबिचौरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।

शुक्रबार राति गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।
दुर्घटनामा परेर चालक रेसुंगा नगरपालिका-१२ का बर्ष ३० का तेज बहादुर रानाकाे उपचारका क्रममा तम्घासमा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-१२ का बर्ष १७ का रमेश खत्री, रेसुङ्गा नगरपालिका-२ बस्ने बर्ष १६ का रोशन परियार, सोहि स्थानका बर्ष १८ का सुरज बिक र बर्ष १७ का सुनिल बिक घाइते भएको सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।
अटो सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेड क्वाटर गुल्मीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद सेढाईको कमान्डमा खटिएको ११ जना सुरक्षाकर्मीको टोलीले दुर्घटनाका घाइतेहरुको उद्धार गरेको थियो ।