हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 1050  पटक पढिएको

विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै उनी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन् ।

शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् ।

बिहिबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए । यसका साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खानाले निर्णायकहरुको मन जिते ।

यस्तै, कार्यक्रमको दोस्रो चरणमा सन्तोषलगायत त्यहाँ उपस्थित सेफलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनियो ।

सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई स्मरण गर्दै आफ्नी आमाका लागि खाना बनाए । कामको बीचको ब्रेक हुन्थ्यो । ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन् । आमा–छोरा दुबै सँगै खान्थे । उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए । साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट डिश तयार पारे ।

यो चरणमा पनि निर्णायक सन्तोषको सृजनशीलता र मसलाहरुको सम्मिश्रण देखेर चिकत परे ।

शुक्रबार ‘मास्टरसेफ च्याम्पियन २०२०’ को उपाधिका लागि उनको अन्य दुई सेफसँग कडा टक्कर हुनेछ ।

फिनालेमा प्रवेश भएपछि सन्तोषले आफ्नो खुसी व्यक्त गर्दै भनेका छन्, ‘अन्तिम तीन सेफमा आफू पनि पर्न सफल भएकोमा निकै गौरवान्वित महसुस गरिरहेको छु, साथै यसका लागि आभारी पनि छु । मलाई सबैभन्दा बढि खुसी के मा लागेको छ भने जुन कुरा मैले आफ्नो जीवनभरी खोजिरहेँ, गर्न चाहेँ, त्यो मैले यो प्लेटफर्ममा पाएको छु । नेपाली खानालाई विश्वसामू चिनाउन पाउँदा र चर्चित सेफको टेबलमा पस्कन पाउँदा म निकै गर्व महसुस गर्छु । नेपाली खानाले आफ्नो अस्तित्व पाएकोमा असाध्यै उत्साहित छु । अब म हाम्रो उत्कृष्ट कुजिन र संस्कृतिको संसारभरी फैलावटका लागि यसलाई आफ्नो मिसन नै बनाउनेछु ।’

सन्तोषले यसअघिको शोमा नेपालको हिमाली क्षेत्रको खानाको रूपमा बन तरूल सँगै पोलेको कटहर र काक्रोको बियाँ, स्याउको चटनीलगायतका परिकार बनाएका थिए।

साथै, गत साताको सेमिफाइनलमा सन्तोषले नेपालको योमरी परिकारको परिष्कृत रूप प्रस्तुत गरेका थिए। योमरीभित्र चकलेट तथा काजु हालिएको थियो र माथि सुन्तला र दालचिनीले सजाइएको थियो। लगत्तै उनले भारतीय –चिनियाँ शैलीको चिकन चिली पनि पस्किए ।

प्रतियोगिताको पूर्व चरणमा उनले नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धामा उत्रने सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!