
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आर्थिक विभागका वरिष्ठ सदस्य प्रेम दर्नाललाई पक्रन गएको प्रहरी झुक्किएको छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै आइतबार उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, फेरि पक्राउ गर्न गएको प्रहरीले झुक्किएर भाइ लोकेन्द्र दर्नाललाई पक्राउ गरेको छ ।
मंसिर ६ मा दोलखा बैतेश्वरका प्रेम दर्नाल र दोलखा बिगु घर भएका सो समूहका आर्थिक विभागका सेक्रेटरी सन्जीव नेपालीलाई प्रहरी प्रधान कार्यालयको टोलीले ललितपुरबाट पक्रेको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको दुवैलाई सर्वोच्च अदालतले आइतबार जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा छाड्न आदेश गरेको थियो ।
सो आदेशपछि प्रहरीले उनीहरुलाई पक्रन महानगरीय प्रहरी परिसर भक्तपुरको टोली ललितपुर पुगेको थियो । तर, दर्नालको साटो भाइलाई समातेर थुनामा राखिएको छ ।
लोकेन्द्र र सन्जीव दुवैलाई भक्तपुर प्रहरीले अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर थुनामा राखेको छ । पक्राउ गर्न जाँदा झुक्किएर भाइलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीलाई बताए ।
विप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेपछि जिल्ला अन्तर गरेर घुमाउँदै मुद्दामा अल्झाउने प्रहरीको रणनीति छ ।